फाइल फोटो ।
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक शुरू भएको छ ।
प्रधानमन्त्री ओलीले समसामयिक विषय तथा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न बोलाएको सर्वदलीय बैठक बालुवाटारमा शुरू भएको हो । बैठकमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल हुनेछ र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू सहभागी छन् ।
बैठकको शुरूमै प्रधानमन्त्री ओलीले सहभागीहरूलाई स्वागत गर्दै छलफल आयोजना गर्नुपर्ने उद्देश्यमाथि प्रकाश पारे । सो क्रममा उनले कोभिड–१९ को नियन्त्रण, प्राप्त उपलब्धिहरूको रक्षा, संविधानविरोधी र हिंसात्मक गतिविधिहरूको विरोधमा एकजुट हुन सबैमा आग्रह गरेका छन् ।
यसका साथै पछिल्लो समय मुलुकमा राजावादीहरुको प्रदर्शन बढिरहेका बेला त्यस विषयमा पनि सर्वदलीय बैठकमा छलफल हुने बुझिएको छ ।
सर्वदलीय बैठकअघि सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुसँग परामर्श गरेर एजेण्डा तय गरेका छन् ।
कस्ता छन् सर्वदलीय बैठकमा कांग्रेसले उठाउने एजेण्डा ? पढ्नुस् समाचारः
कांग्रेसको निश्कर्षः सरकार पूर्ण असफल, तत्काल संसद बैठक आवश्यक, यस्ता छन् सर्वदलीय बैठकमा उठाउने एजेण्डा
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद बढिरहेका बेला प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकलाई चासोपूर्वक हेरिएको छ ।सर्वदलीय बैठकअघि प्रधानमन्त्री ओलीले मंगलबार बिहान मन्त्रीपरिषद् बैठक बसालेका थिए ।
यसअघि मंसिर २१ गते नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले मुलुकमा देखिएका केही गम्भीर विषयमा छलफल गर्न सर्वदलीय बैठक आवश्यक भएको बताएका थिए । आइतबार बसेको नेकपाको स्थायी समिति बैठकमा समेत नेता जनार्दन शर्माले छलफलका लागि ‘विशेष प्रस्ताव’ पेश गरेका थिए ।
ओलीले यसअघि वैशाख ३१ गते सर्वदलीय बैठक बोलाएका थिए । सो बैठकमा नेपालको भूमि मिचेर भारतले सडक बनाएकोबारे छलफल गरेका थिए ।