बैतडीः सुर्नया गाउँपालिकामा एक अनौठो शिशु जन्मिएको छ ।
सुर्नया गाउँपालिकाको–५ मडकी २१ वर्षीया गिता विकले अनौंठो शिशु (छोरा)को जन्म दिएकी हुन् । पहिलो सन्तानको रुपमा मलद्धार, नाक र ओठ नभएको अनौंठो बच्चाको जन्म दिएकी सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिए ।
समय पुगेपछि ९ महिनामा जन्मेको उक्त शिशुको अवस्था सामान्य रहेको छ । महराले भने, ‘बच्चाको मलद्धार, मल्लो ओठ र नाकको प्वाल पनि छैन, मुखको छेउमा मासुका डल्ला पलाएका छन् । शिशुले दुध चुस्न सकेको छैन् । चम्चाले दुध खुवाइरहेका छन् ।’
सोमबार बेलुका जन्मिएको शिशुलाई स्वास्थ्यचौकीले उपचारका लागि धनगढी रेफर गरे पनि आमा र शिशु घर फर्किएको बताइएको छ । आर्थिक अभावका कारण शिशुको उपचारमा समस्या भएको बताइएको छ ।
बच्चा जन्माउने प्रक्रियामै समस्या भएर यस्तै बच्चा जन्मिएको हुनसक्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले बताए ।