जब उसका हात बिस्तारै मेरो तिघ्रामा सल्बलाए, छातीभन्दा तल चिसो महशुस भयो…

रितीका अधिकारी

टिनटिनटिन…घण्टी बज्यो । सबैजना घर जाने भनेर खुसी भए । मलाई भने कहिल्यै घर जान नपरे हुन्थ्यो झैँ भएको थियो । आँखैअघि हरबखत त्यही मान्छेको अनुहार आइरहन्थ्यो ।

टोलाइरहेकी थिएँ ।

उसैको हात बिस्तारै मेरो तिघ्रामा सल्बलाएको महशुस गरेँ ।

‘आस्था…ए आस्था…’झसङ्ग भएँ ।

मधुले ढोकाबाट बोलाइरहेकी रहिछे, ‘तँ कता टोलाको के, सबैजना गइसके ।’ मधुले भनी ।

हामी कलेजबाट निस्कियौँ । मौन । मलाई हिजैको घटनाको झल्को बारम्बार आइरहेको थियो । जतिबेला पनि त्यो हात घरि मेरो तिघ्रामा सल्बलाइरहेको त घरि मेरो छातीसम्म पुग्न खोजेको महशुस गरिरहन्थेँ । भित्रभित्रै रुन्थेँ।कराउँथेँ ।

मनले त ठूलो स्वरमा ‘हात हटा…’ भनिरहन्थ्यो । आँसुले भरिन्थे आँखा । तर झर्न भने सक्दैनथ्यो ।

‘कस्तो कस्तो हुन्छन् है केटा मान्छेहरु…छ्या !’ मधुले भनी ।

‘किन र ?’ मैले प्रश्न गरेँ । ‘भर्खर भनेँ त’ उसले उत्तर दिइ । ‘सरी यार, मैले त केही सुनिनँ, फेरि भन् न ।’

‘पुल आइसक्यो । म भोलि भन्छु तँलाई ।’ यति भनेर ऊ पुलतिर उक्लिई । म गाडी चढ्नेतर्फ लागेँ । मलाई गाडी चढ्ने मनै थिएन । हिँडेरै घर जाऊँ जस्तो भइरहेको थियो । तर, त्यसो गर्नु सम्भव पनि थिएन । आज त त्यो मान्छे नपर्ला कि भन्ने आशमा गाडी कुरेर चढेँ । लास्ट सिट मात्रै खाली थियो । म त्यहीँ गएर बसेँ ।

एकैछिनमा गाडीको ढोका छेउमा मैले त्यही अनुहार देखेँ । त्यही अनुहार, जसले मलाई हिजोदेखि छाडेको थिएन । त्यही अनुहार, जसले गर्दा मेरो मन चिच्चाइरहेको थियो, रोइरहेको थियो । म डराएँ, आत्तिएँ ।

हिजोको घटना झल्झली याद आयो । म पसिना पसिना भएँ । ऊ लास्ट सिट अगाडि नै आएर उभियो । मेरो छेउमा बस्नुभएको आण्टी नओर्लिए हुन्थ्यो भनी मनमनै प्रार्थना गरिरहेँ । तर आण्टी ओर्लिनुभयो र त्यो मान्छे हिजोजस्तै मेरो छेऊमा आएर बस्यो । उसले मलाई हेरिरहेको थियो । मैले टाउको घुमाएर उसलाई हेर्नै सकिनँ । के गरौँ, कसो गरौँ भयो । एकैछिनमा मलाई मेरो काखीभन्दा अलि तल कसैको हात सल्बलाइरहेको भान भयो । म जुरुक्क उठेँ, सहचालकलाई भाडा दिएँ र रुँदैरुँदै ओर्लिएर अर्को गाडी चढेँ ।

घर पुगेपछि बाथरुम पसेर निकैबेर रोएँ । अरूबेला एकपटक रोएर हल्का हुने मन, हिजो र आज भएन । बरु, झन्झन् भारी हुँदै गइरहेको थियो । होमवर्क गर्न त बसेँ, तर गरिनँ । गर्नै सकिनँ । बरु, घरमा कसैले थाहा नपाउने गरी रोइरहेँ । धेरैबेर । भोलिपल्ट बिहान छिट्टै आँखा खुलेपनि म सुतिरहेँ । ममीले ‘हैन कति सुतेकी आजभोलि । कलेज जाने बेला भइसक्यो, अब त उठ्’ भनेपछि उठेँ । मलाई कलेज जान मन थिएन ।

‘ममी, आज म कलेज जाँदिन नि है ?’ ममीलाई सोधेँ । ‘किन नजाने कलेज ? आज त झन् तेरो प्राक्टिकल छ ।’ ममीले भनेपछि पो बल्ल याद आयो । आज फिजिक्सको प्राक्टिकल हो भनेर । हतार हतार प्राक्टिकल बुक र कापी ब्यागमा हालेँ । निस्किएँ । मैले त प्राक्टिकल नै गरेको छैन भन्ने पिर मान्दै कलेज पुगेँ ।

दिमागमा कताकतिप्राक्टिकल र होमवर्कको चिन्ता थियो भने कताकति हिजोअस्तिको घटनाको आघात । प्राक्टिकल क्लासमा खाली कापी बुझाउँदा सरले निकै गाली गर्नुभयो र भोलि गरेर आऊ भन्नुभयो । सधैँ होमवर्क गर्ने म त्यो दिन गरिनँ । साथीहरू पनि छक्क परे ।

‘किन नगरेकी ?’ मधुले सोधिरही ।तर मैले जवाफ दिन सकिनँ । बरु, सर र साथीहरूको अगाडि मौन बसिरहेँ । मेरो मनमा भएको त्रास मेरो आँखामा सजिलै छापिएको थियो । म जतिबेला पनि त्यो मान्छे गाडीमा नपरे हुन्थ्यो भन्ने सोचिरहन्थेँ ।

अन्तिम क्लास सकिएको घण्टी बज्यो ।त्यो दिन हामी कलेजबाट निस्कियौँ र गफ गर्दै पुलसम्म पुग्यौँ । त्यसपछि मधु आफ्नो बाटो लागी र म आफ्नो बाटो । गाडी कुर्ने ठाउँनेर पुगेपछि म झसङ्ग भएँ । मेरो मन एकदमै अत्तालियो । मानवरूपी दानव त त्यहीँ आइपुगेछ ।

डराउँदै सोचेँ, ‘त्यो मान्छे चढिसकेपछि मात्र म अर्को गाडीमा चढ्छु ।’ एकैछिनमा गाडी पनि आयो । केही मान्छे चढे । र, गाडी हिँड्यो । अब त त्यो दानव पनि गयो होला भनेर यसो बायाँतिर हेरेको, ऊ त आफ्नो गिद्धे नजरले मलाई घुरेर त्यहीँ उभिएको रहेछ । त्यसपछि २, ३ वटा गाडी आए । तर, न ऊ चढ्यो, न त म ।

अबको गाडी पनि नचढे तघर पुग्न ढिलो हुन्छ भनेर म त्यसपछिको गाडी चढेँ । अबेर भएर होला, गाडी खाली खाली नै थियो । म ढोकापट्टिको चौथो सिटमा गएर बसेँ । ‘महिला सिट’मा बस्दा कहिले आण्टीहरूले त कहिले बिरामीहरूले सिट माग्दा छोडिदिनुपर्थ्यो । त्यही भएर म ‘महिला सिट’मा बस्दिनथेँ । त्यो मान्छे अरू सिट खाली हुँदाहुँदै पनि मेरै छेउको सिटमा आएर बस्यो ।

सधैँजस्तो गाडी फेर्नुभन्दा बरु आज सिट फेर्छु भन्ने सोचेँ । जुरुक्क उठेर वरपर हेरेँ । गाडी सहिदगेट पुगिसकेको रहेछ । बाँकी सिटमा पनि मान्छेहरू चढेर बसिसकेका रहेछन् । म फेरि त्यहीँ बस्न बाध्य भएँ । लाचार र असहाय । आफ्नै घर फर्किन पनि मलाई यस्तो अमानवीय र तुच्छ व्यवहार झेल्नुपर्ने !

अस्तिको दिनको घटना मेरो दिमागमा स्लाइड सो जसरी आउन थाल्यो ।

अफिस जाँदो हो, त्यसैले ऊ सधैँ सुटमा हुन्थ्यो । अचानक मलाई छातीभन्दा तल चिसो महशुस भयो । झट्ट हेरेको त्यो राक्षसले हात आफूतिर लगेको देखिहालेँ । मेरो सर्टको एउटा टाँक खुल्लै थियो । म शून्य भएँ । दिमाग खाली भयो । शरीर पूरै चिसो भयो । मैले केही सोच्नै सकिनँ । हत्तपत्त ब्यागले छोपेर सर्टको टाँक लगाएँ र सहचालकलाई गाडी रोक्न भनेँ ।

‘एकछिन ल, पारि गएर रोक्छ गाडी ।’ सहचालकले भने । गाडी नरोकुन्जेल ढोकानेर उभिइरहेँ । आँखाबाट आँसु बगिरहेका थिए । सायद आँखा राता पनि भएका थिए । सहचालक दाइले सोधे, ‘बहिनी, के भयो ?किन रोएकी ?’ मैले दायाँबायाँ टाउको हल्लाएर ‘केही होइन’भन्ने इसारा गरेँ । गाडी कलङ्की पारि रोक्यो । म ओर्लिएँ र टुसुक्क बसेँ । मलाई अझैपनि छातीभन्दा तलतिर चिसो महशुस भइरहेको थियो । म त्यहीँ बसेर रोएँ । वरपरका मान्छेहरूले मलाई हेर्दै जाँदै गरिरहेका थिए । म निकैबेर रोएँ र अर्को गाडी चढेर घर गएँ ।

हिजोअस्तिको जस्तै घर पुगेर पनि म रोइरहेँ । बिहानपख उठ्दा ममीले भनिरहनुभएको थियो, ‘त्यस्तो बोल्ने मान्छे, तँलाई के भएको छ हँ आजभोलि? कलेज पठाइदिएको खाजा पनि नखाएरै फर्काएकी छेस् । कि मीठो भएन र ?’

‘होइन ममी । हिजो खाजा खाने बेलामा सरले बोलाउनुभयो । त्यही भएर खान भ्याइनँ ।’ बहाना बनाएँ । किन ममीलाई झुटो बोलेँ भनेर म आफैँलाई प्रश्न गरिरहेकी थिएँ । त्यसपछि म ड्रेस लगाउन गएँ । ड्रेस लगाउँदै ऐना हेरेँ । एकछिन त्यहीँ रोकिएँ । त्यही हात मेरो तिघ्रा र छातीमा हिँडिरहेको देखेँ । त्यो हात पन्छाउन खोजेँ । शरीरमा भए पो पन्छिन्थ्यो होला त ! मस्तिष्कमा छापिएको त्यो हात, त्यो राक्षसको अनुहार कहाँबाट पन्छिन्थ्यो र ?

जसोतसो तयार भएर कलेज पुगेँ ।

कलेज पुगेपछि मधुसँग भेट भयो । भेट्न नपाउँदै उसले सोधी, ‘आज त गरेर ल्याइस् नि प्राक्टिकल?’ ला !मैले फेरि बिर्सिएछु । याद पनि कसरी होस् त ?

‘ला…छैन यार’ भनेँ, ‘हैन तँलाई के भइरहेको छ हँ ?न होमवर्क गर्छेस्, न प्राक्टिकल गर्छेस्…क्लासमा पनि ध्यान दिएर सुन्दिनस्, बोलाए पनि सुन्दिनस्…आखिर के चलिराछ तेरो दिमागमा ?’ उसले सोधी ।

अब मैले मेरो मनको भारी नबिसाउनुको धर थिएन । बिसाएँ । रुँदैरुँदै । ऊ अचम्म परी । र, भन्न थाली, ‘मसँग पनि यस्तै घटना भएको थियो । अस्ति तँलाई यही भनेकी थिएँ, तर तैँले सुनिनस् । अन्तै टोलाइराखेकी थिइस् । त्यसैले ।’ मैले सोधेँ, ‘के भएको थियो र ?’ ऊ बोल्न थाली, ‘अस्ति एकदिन मेरो छेऊमा एउटा मान्छे बसेको थियो । बसेको एकछिनपछि त्यसले आफ्नो हात मेरो छातीनेर ल्याउन थाल्यो । मैले उत्तिखेरै त्यसको हात च्पाप्प समातेर अगाडिको सिटमा ठोक्काइदिएँ । त्यसपछि तुरुन्तै उभिइरहेका मान्छेहरूले सहचालकलाई बोलाए र त्यो मान्छेलाई गाडीबाट निकाले । तँ यत्रो दिनदेखि किन सहेर बसेकी ? उत्तिबेलै त्यसलाई गाली गरेर त्यसलाई गाडीबाट निकाल्दिनुपर्छ नि ।’

ऊ बोल्दाबोल्दै मैले बीचमै रोकेर भनेँ, ‘अनि पछि त्यो मान्छेले केही गर्यो भने नि ?’ मधुले निधारमा लगभग तीनवटा गाँठो पारेर भन्न थाली, ‘तैँले यस्तै सोचेर त्यसले तँलाई यत्रो दिनसम्म यातना दिइराख्यो । हाम्रो यस्तै डरले यस्ता मान्छेलाई प्रेरणा मिल्छ । पछि तँलाई केही गर्न खोजेपनि तँलाई सहयोग गर्ने कोही न कोही तेरो वरपर वा तँभित्रैमा हुन्छ । हामीसँग त कम्पास, पेनजस्ता चिजहरु पनि त हुन्छन् नि । एक्लै भएको बेला यस्तै चिजले घोचेपनि भइहाल्यो । बुझिस् नि ? आजदेखी चुप लाग्ने होइन । आवाज उठाउने हो, लड्ने हो । यस्तालाई सजाय दिलाउने हो ।’

मुधको कुराले मलाई मनमा छोयो । म एकछिन अचम्मित भएँ । आफैलाई प्रश्न गर्न थालेँ, ‘किन चुप भएँ म यत्तिका दिन ?’ हिम्मत जागेर आयो ।

आजपनि हामी पुलसम्म गफ गर्दै पुग्यौँ र बाई भनेर छुट्टियौँ ।

आजभने त्यो मान्छे गाडी चढ्ने ठाउँनेर थिएन । एकछिनमा गाडी आयो र म चढेँ । सधैँजसो आजपनि लास्ट सिट मात्रै खाली थियो । त्यसैले त्यहीँ गएर बसेँ । कालिमाटी पुगेपछि त्यही राक्षसको अनुहार ढोकानेर देखेँ । त्यसले मलाई उही गिद्धे नजरले हेरिरहेको थियो । रविभवन आएपछि मेरो छेउमा बसेकी दिदी ओर्लिनुभयो र त्यो मान्छे मेरो छेऊमा बस्यो । उसले आफ्नो हात मेरो छातीतर्फ बढाइरहेको थियो । मैले तुरुन्तै त्यसको हात च्याप्प समातेर झट्कारेँ ।

‘तेरो हात काट्दिम्?’ म चिच्याएँ ।चर्को स्वर गरेँ,‘भन् तेरो हात काट्दिम्?’गल्लीमा उभिएका र सिटमा बसेका सबै मतिर हेर्दै लगभग एकै स्वरमा सोधे, ‘के भयो नानी ?’

म बोल्न थालेँ । रिसले दाँत किट्किटाएका थिए । ‘यसले २/४ दिनदेखि मलाई यस्तै गरिरहेको छ । चाल मारेर सधैँ आफ्नो हात मेरो शरीरमा ल्याउँछ । कता कता छुन खोज्छ ।’

‘यसलाई पुलिसकोमा लैजाऊँ ।’ बसका सबैजसो एकैस्वरमा कराए ।

नभन्दै सहचालक दाइले तुरुन्तै चालकलाई भनेर गाडी पुलिस चौकीनेर रोकाए ।

त्यो मान्छेलाई पुलिसको जिम्मा लगाइयो ।

मलाई ठूलै भारी बिसाएझैँ भयो । कैयौँ दिनदेखि हावाहुरी चलिरहेको मन शान्त भयो ।

भोलिपल्ट कलेज गएँ । सरलाई प्राक्टिकल पनि बुझाएँ र सबै पिरियडमा ध्यान दिएर पनि पढेँ । त्यो दिन,अन्तिम पिरियड सकिएको घण्टी पनि बज्यो ।

टिनटिनटिनटिन…

म खुसी हुँदै घर फर्किएँ ।

साभार: www.gulabisambad.blogspot.com

कमेन्ट गर्नुहोस्