काठमाडौं: अष्ट्रेलियामा आजदेखि सुरु भएको बिग बास लिग (बीबीएल)को उद्घाटन खेलमा होबार्ट हेरिकेन्सविरुद्ध गत संस्करण विजेता सिड्नी सिक्सर्स १६ रनले पराजित भएको छ ।
हरिकेन्सले दिएको १ सय ७९ रनको लक्ष्य पछ्याएको सिड्नीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६२ रन मात्र बनाउन सक्यो । उसका लागि जेम्स विन्सले ६७, ज्याक इड्रवासले ४७, जोर्डन सिल्कले १३, डानियल क्रिस्टियनले १० रन बनाए ।
बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बलिङमा जेम्स फल्कनर र रिले मेरेडेथले सर्वाधिक २/२ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको होबार्टल निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७८ रन बनायो ।
शून्य रनमा दुवै ओपनर गुमाएको होबार्टका लागि कोलिन इन्ग्राम र टिम डेविडले अर्धशतकीय पारी खेले । इन्ग्रामले ४२ बलमा सात चौका र एक छक्कासहित ५५ तथा डेविडले ३३ बलमा ८ चौका र १ छक्काको मद्दतमा ५८ रनको योगदान दिए ।
त्यस्तै, कप्तान पीटर ह्यान्सकम्बले २४, नाथन इल्सले १४ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमासमेत रन बनाउन सकेनन् । बलिङमा बेन डारह्वेज र डानियल क्रिश्चियनले सर्वाधिक तीन/तीन विकेट लिए ।
जारी सिजनमा होबार्टमा नेपाली लेगस्पिनर सन्दीप लामिछाने पनि छन् । सन्दीपले सुरुवातका ६ म्याच भने गुमाउने छन् ।
नेपालबाट अष्ट्रेलिया पुग्न ढिलाइ गर्ने भएकाले सन्दीप्ले सुरुवातका ६ म्याच गुमाउने भएका हुन् । उनी आउँदो मंगलबार अष्ट्रेलिया प्रस्थान गर्दैछन् । सन्दीप १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र टिमसँग जोडिने छन् ।