विश्वकप विजेता पाओलो पाउलो रोसीको निधन

इटली : विश्वकप फुटबल प्रतियोगितामा इटलीलाई विजेता बनाउन नेतृत्व गरेका खेलाडी पाउलो रोसीको निधन भएको छ ।

उनकी श्रीमती फेडेरिका कपेलेटीले ६४ वर्षको उमेरमा आफ्ना श्रीमानको निधन भएको बिहीबार पुष्टि गरेकी छन् ।

उनले इटलीलाई सन् १९८२ मा भएको विश्वकपको उपाधि दिलाएका थिए । त्यसपछि उनी आफ्नै देशमा फुटबलको कमेन्टेटरका रूपमा क्रियाशिल थिए ।

इटलीमा राज्यद्वारा सञ्चालित रेडियो र टेलिभिजनको संस्था आरएआइमा समेत काम गरेका रोसीलाई इटलीका विश्व प्रसिद्ध सफल खेलाडीका रूपमा चिन्ने गरिएको छ ।

उनको निधनपछि उनकी श्रीमतीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘तपाई जस्तो संसारमा अर्को कोही छैन, तपाई विषेश हुनुहुन्थ्यो, फरक हुनुहुन्थ्यो, तर अब तपाई नै नरहेपछि म पूर्ण शून्यतामा पुगेकी छु ।’

रोसीले स्पेनमा भएको विश्वकपमा ६ गोल गरेका थिए । ब्राजिलसँगको खेलमा ३-२ गोल गरेर इटलीलाई जिताएका उनले विश्वकपको फाइनलमा पश्चिमी जर्मनीविरुद्ध ३-१ गोलका साथ उपाधि दिलाएका थिए ।

सन् १९८२ मा नै उनी फिफा वर्ष खेलाडीका रुपमा पनि निर्वाचित भई विश्वकै सर्वप्रिय खेलाडीमध्ये एक बन्न सफल भएका थिए ।

उनको निधनमा शोक व्यक्त गर्दै इटलीको फुटबल महासंघले आधा झण्डा झुकाउने भएको छ । उनको निधनप्रति खेलाडी, सुभेच्छुक, उच्च पदस्थ व्यक्तिलगायतले शोक व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्