संघर्षका जटिल मोड छिचोल्दै ६७ वर्ष लागे प्रचण्ड, भन्छन्– बाँकी जीवन समाजवादका लागि

गोकर्ण भट्ट
काठमाडौं, एउटा मानिसको जीवनमा कैयन उपजीवन हुन्छन् । दुखसुखका अनेकन कालखण्ड ।

कतिपयबेला यी जटिल कालखण्डमा मानिसले हिम्मत हार्ने गर्छन् । कतिपय बेला थाक्छन्, गल्छन् ।

तर केहीले भने जटिलतबाट आफूलाई उम्काउँछन् र फेरी नयाँ वेगका साथ अघि बढाउँछन् ।

यस्तै एक व्यक्तित्व हुन प्रचण्ड ।

यस्तै जटिल कालखण्डहरुको पीडा झेलेर पनि उदात्त वेगका साथ अघि बढन सफल नेकपा अध्यक्ष प्रचण्ड आज ६७ औं वर्षमा प्रवेश गरेका छन् ।

उनका सामु जीवनको उत्तरार्ध तर निर्णायक राजनीतिक समय अगाडि तेर्सिएको छ ।

नेपालको राजनीतिमा निर्णायक भूमिका खेल्दै आएका प्रचण्ड आजबाट ६७ औं वर्षमा प्रवेश गरेका हुन ।

घिसापिटा र जडतामा बाँच्न मन नपराउने प्रचण्डले नेपाली राजनीतिमा एउटा विशिष्ट स्थान राख्छन् । उनको चर्चा र महत्वको ग्राफ कहिले तल, कहिले माथि पुग्छ । तर यो हरेक चर्चासँगै नेपाली समाजलाई भने उनले धक्का दिइ नै रहन्छ ।

नेपालमा माओ स्कूल अफ थाउटका एउटा प्रमुख र निर्णायक नेता प्रचण्ड अहिले एकीकृत कम्युनिष्ट पार्टीका शक्तिशाली कार्यकारी अध्यक्ष छन् । यो सँगै उनका सामु विगतमा आफूले देख्दै आएका सपना पुरा गर्ने महान जिम्मेवारी तेर्सिएको छ ।

एभरेष्टदैनिकडटकमसँग कुरा गर्दै प्रचण्ड भन्छन्, “जीवनका यी कालखण्डमा मैले धेरे पाएँ, धेरै गुमाए । तर म थाकेको छैन । एक्काइसौं शताब्दीमा विश्वलाई समाजवादी मोडेल दिएर मात्रै म विश्राम लिन्छु ।”

त्यसो त उनले अबको दशक समाजवादी क्रान्तिको तयारीको दशकका रुपमा पनि व्याख्या गर्दै आएका छन् । नेपाली राजनीतिमा नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै नयाँ प्रकारको संसदीय व्यवस्थाबाट समाजवादी समाजको आधार तयार पार्ने संकल्प उनले बोकेका छन् ।

प्रचण्डले सोचजस्तो राजनीति अघि बढेन । कतिपय बेला उनी साँच्चिकै गले र कमजोर भए जस्तो पनि व्याख्या भयो । जस्तो कि नेकपाभित्र विवाद उत्कर्षमा पुग्दा जसरी अध्यक्ष ओलीले एकलौटी ढंगले अघि बढने कार्यशैली अपनाएका थिए, त्यो बेला प्रचण्डको भविष्य के भन्ने प्रन समेत कतिपयले उठाए । तर जतिलतामा सम्भावना खोज्ने प्रचण्डले नेकपाको एकतालाई समेत नयाँ वैचारिक उचाई दिएका छन् । नेकपा अब रुपान्तरण हुनैपर्ने बिन्दुमा पुगेको छ ।

तर प्रचण्डको यो यात्रा त्यति सहज भने कहिल्यै रहेन । जीवनका कैयन कालखण्ड उतारचढावले भरिँदै आए । व्यक्तिगत जीवनमा समेत ठूलो क्षति ब्यहोरेका प्रचण्डले राजनीतिमा समेत कैयन उतारचढाव भेल्दै आए ।

माओका रेड बुकका पानाहरु पल्टाउँदै गर्दा प्रचण्डको मनमा एउटा हुटहुटी जाग्थ्यो– नेपालमा पनि यस्तै गर्न पाए । दुःखी, निमुखा गरीब जनताको पक्षमा क्रान्ति गर्न पाए ।

यही हुटहुटीले चौथो महाधिवेशनमा प्रचण्डको तिख्खर आवाजमा प्रस्तुत हुन पुगे । उनीभन्दा राजनीतिकरुपमा निकै सिनियर मोहनबिक्रमदेखि निर्मल लामाहरुका अगाडि ३५ वर्ष पनि नकटेको युवाले
क्रान्तिका कुरा गर्दा नेतृत्वलाई अपाच्य हुनु स्वभाविकै थियो । निर्मल लामाहरु उदारवादी क्रान्तिकारी व्यवहार देखाउँथे । पञ्चायती चुनाव पनि उपयोग गर्नुपर्ने अडानसहित । यता प्रचण्डहरु रेडबुकबाट प्रभावित थिए । क्रान्तिकारी साहित्यका पात्रहरुमा कता कता आफूलाई उभ्याउँथे ।

याे पनि पढ्नुस  सकियो ओली र प्रचण्डको भेटवार्ता

चौथो महाधिवेशन फुट्यो । मोहनबिक्रम र प्रचण्ड बैद्यहरु एउटा पार्टीमा लागे । तर त्यो पनि बढी टिकेन । शास्त्रीयतावादी मोहनबिक्रमसँग प्रचण्डहरु सहमत हुन सकेनन् । अध्ययनका दृष्टिले र अनुभवका आधारमा मोहनबिक्रमहरु अगाडि थिए, भावना र जोशका हिसाबले प्रचण्डहरु । युवा वयको जोश, केही गर्ने हुटहुटी । हुँदाहुँदै २०४२ तिर उनीहरु मोहनबिक्रमका किताबी क्रान्तिको प्रयोगशालाबाट अलग भए र मोटो मशाल अन्तर्गत नयाँ जनवादी क्रान्तिको रुपरेखा कोर्न शुरु गरे ।

यो क्रम २०५२ सम्म चल्यो । त्यो बीचमा अहिले प्रचण्डसँगै रहेका नारायणकाजीहरु अलग भए । उनीहरुले पनि क्रान्तिमा होमिने साहस राखेनन् । पुस्तकमा, लेख रचनामा उनीहरुले क्रान्तिका शब्द निकै खर्चिए । तर व्यवहारमा क्रान्तिको जोखिमपूर्ण बाटो उनीहरुले पनि पहिल्याउने आँट गरेनन् । वैद्य थिए, प्रचण्ड थिए, बाबुराम थिए मोहनबिक्रमलाई छोडेर आएका । एउटा सानो समूह । बाबुरामले आफूलाई चे ठान्थे ।

यो सानो समूह एकता केन्द्रबाट अलग भएर २०५२ फागुन १ गते युद्धमा होमियो । त्यो निर्णय एउटा भावना र केही नगरी हुन्न भन्ने आँटका साथ शुरु भएको थियो । यसको मुख्य नेतृत्व थिए प्रचण्ड । मुख्य आँट उनकै थियो । उमेरका हिसाबले मुश्किलले ४० कटेका थिए त्यतिबेला प्रचण्ड । ४० वर्षमा एउटा भीषण युद्दको नेतृत्व गर्ने आँट गरेका थिए प्रचण्डले । यो चानचुने कुरा थिएन । ठीक अहिले उत्तर कोरियाका ३५ नकटेका राष्ट्रपतिले अमेरिकालाई थर्काएजस्तै । प्रचण्डको नेतृत्वको युद्धले समते नेपाल मात्रै होइन अमेरिकाको सिआइएदेखि भारतको रसम्मलाई थर्कमान बनाएको थियो ।

युद्ध नयाँ अनुभव थियो प्रचण्डका लागि । रेडबुकदेखि सैन्य रचनासम्मका कुराहरुलाई नेपालको बस्तुगत धरातलका आधारमा सञ्चालन गर्नुपर्ने । तीनतिरबाट भारतसँग घेरिएको, अन्तर्राष्ट्रिय अवस्था प्रतिकूल भएको, आन्तरिकरुपमा सत्तापक्षीय राजा, एमाले र कांग्रेसहरुबीच त्यतिसारो अन्तरविरोध नचुलिएको अवस्था, सानो आकारको संगठन । कैयन् चुनौती थिए । तर प्रचण्डको नेतृत्व, आँट र साहसले शान्तिप्रक्रियासम्म आइपुग्दा माओवादी एउटा प्रमुख र प्रभावकारी शक्तिका रुपमा उदय भयो । प्रचण्डको नेतृत्व देशका लागि अपरिहार्य हुने अवस्था भयो ।

त्यतिबेला गिरिजाप्रसाद कोइराला राजनीतिक मियोका रुपमा स्थापित थियो । एमालेको भूमिका ढुलमुले थियो । उसको आफ्नो एजेण्डा केही थिएन । राजतन्त्र फाल्ने कुरामा समेत एमाले अग्रगामी थिएन । बरु राजतन्त्र स्वीकार्दै आएको कांग्रेसले समेत प्रचण्ड नेतृत्वले अगाडि सारेको नारालाई स्वीकार गरेर राजतन्त्र हटाउने निर्णय गरिसकेको थियो । अन्ततः २०५२ सालको युद्धको एउटा पहिलो उपलब्धिका रुपमा राजतन्त्र समाप्त भयो । युद्धकालमा कैयन गल्ती भए, एउटा ठूलो मानवीय क्षति भयो । प्रचण्डहरुले त्यसलाई निरन्तरता दिन सकेनन् । युद्ध सम्झौतामा रुपान्तरित भयो । क्रान्तिकारी माक्र्सवादी दृष्टिले यो ठीक थिएन । तर, बस्तुगत परिस्थितिका आधारमा हेर्दा यो एउटा उत्तम विकल्प थियो त्यतिखेर । र, यसले कम्तीमा नेपाली जनताको प्रधान अन्तरविरोध रहेको सामन्तवादको केन्द्रलाई जरैदेखि उखेल्न सफल भयो । यदि प्रचण्ड नेतृत्वमा युद्ध हुँदैनथ्यो भने नेपालमा राजतन्त्र यति चाँडै ढल्ने कल्पना पनि गर्न सकिने थिएन ।

याे पनि पढ्नुस  सचिवालय बैठकअघि ओली–प्रचण्डबीच भेट

त्यसपछिका दिनमा संसदीय राजनीति शुरु भयो । संसदीय राजनीतिको अनुभव नभएका प्रचण्डहरु । पहिलोपटक सरकारमा जाँदा संसदीय राजनीतिका दाऊपेच प्रयोग गर्न सकेनन् उनले । यसको परिणाम दोश्रो संविधान सभाको चुनावमा देखियो । प्रचण्डहरु तेश्रो स्थानमा झरे पहिलोबाट । तर राजनीतिकरुपमा यो संख्याले खासै अर्थ राखेन । पहिलो संविधान सभाले संविधान जन्माउन सकेको थिएन । प्रचण्डका अगाडि आफ्ना एजेण्डालाई संस्थागत गर्ने, धर्म निरपेक्षता, समावेशी समानुपातिक राज्य संरचना निर्माण गर्ने, सिंहदरबारको शक्ति गाउँमा विकेन्द्रीत गर्ने र द्वन्द्वकाललाई एउटा निक्र्यौलमा पुर्याउन संविधानको निर्माण र कार्यान्वयन अनिवार्य शर्त थियो । आफू तेश्रो स्थानमा भएपनि उनको भूमिका त्यसपछि पहिलो स्थानको पार्टी नेतृत्वको जस्तै भयो ।

गिरिजाप्रसाद कोइरालाको अवसानपछि प्रचण्डले त्यही राजनीतिक मियोको भूमिका खेले । एमालेको भूमिका त्यो रहेन न त हुनसक्थ्यो नै । नेपाली कांग्रेसभित्र सुशिल कोइरालाले सहयोगी भूमिका निर्वाह गरे । प्रचण्ड प्राथमिक भूमिकामा थिए । ३३ दलको आन्दोलन छोडेर १६ बुँदे सहमतिसँगै उनले संविधान जारी गर्न एउटा अहम् भूमिका निर्वाह गरे । यो प्रचण्डको राजनीतिक जीवनको एउटा मुख्य सफलता थियो ।

संविधान निर्माणदेखि अहिलेसम्म आउँदा प्रचण्डका थुप्रै बिरोधी भए, थुप्रै समर्थक जोडिए । आफ्नै टाढा भए, टाढा भएकाहरुनजिक भए । राजनीतिकरुपमा यति धेरै उतारचढाव सम्भवतः नेपाली राजनीतिको कुनै पनि नेताले भोग्नु परेन होला । यति जटिलता, यति आलोचना, यति समर्थन, यति चर्चा, यति सक्रियता । ४० वर्ष निरन्तर सक्रियता सामान्य हुन सक्दैन कसैको जीवनमा ।
यो निरन्तर सक्रियताको परिणामस्वरुप नै अहिले पहिलोपटक स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सफल भए । यो निर्वाचन सम्पन्न हुन त्यति सजिलो थिएन । सत्ता सम्हालेदेखि नै प्रचण्डको बिरोधमा निरन्तर एउटा अभियान सञ्चालन भएको थियो । उनले गरेका हरेक कामहरु आलोचित थिए । उनले जति राम्रा काम गर्न खोजेपनि त्यसलाई बदनाम गर्ने, अपब्याख्या गर्ने कामहरु भएका थिए । तर तथ्य र तर्कका अगाडि यी आलोचनाहरु मत्थर हुँदै गए । एमालेहरुले एक हप्ताअघिसम्म पनि चुनाव गर्न नसक्ने भनेर सरकारलाई गाली गरिरहेका थिए । तर चुनाव अन्ततः भयो । शान्तिपूर्णरुपमा भयो । सबैले स्वीकार गरेर भयो । कुनै हिंसा भएन । ७३ प्रतिशत जनताले मतदान गरे ।यो एउटा ऐतिहासिक निर्वाचन थियो ।

स्थानीय तहको निर्वाचनपछि प्रचण्डका अगाडि नेपाल कम्यनिष्ट आन्दोलनको भविष्यको महा प्रश्न तेर्सियो । उनले एउटा अचम्मको विष्मयकारी निर्णय गरे । पार्टी एकता गर्ने निर्णय ।
यो चानचुने निर्णय थिएन । पार्टी एकता त्यो पनि एमालेसँग । संसदीय व्यवस्थालाई नै सार्वेपरि मान्दै आएको एमालेसँग ।

याे पनि पढ्नुस  ओली र दाहालबीच अझै रस्साकस्सी

तर उनले नेपाली समाजलाई गति दिन, संविधान निर्माणको कोर्सपछि नेपाललाई समद्ध नेपाल बनाउन, नेपालमा जनताले देखेका सपना कम्युनिष्टले मात्रै पुरा गर्न सक्छन् भन्ने पुष्टि गर्न केही नयाँ र निर्णयक कदम चाल्नुपर्ने बाध्इता थियो । र, उनले कैयन आशंकाबीच पार्टी एकतालाई टुंगोमा पुर्याए ।

पार्टी एकताको निर्णयसँगै निर्वाचन भयो । यसमा प्रचण्डहरुले ठूलो सफलता पाए । तर पार्टी एकता अझै अनिश्चित नै थियोा । लामो रस्साकस्सीपछि यो पनि सम्भव भयो ।
नेपालमा वामपन्थीहरुको दुई तिहाईको सरकार बन्यो । यो सरकार नेपालमा स्थायीत्व र समृद्धिको मियो थियो ।

दुई फरक धारका पार्टी, दुई फरक कार्यशैलीका संगठनबीच एकतालाई सन्तुलित ढंगले अघि बाउन चानचुने कुरा थिएन । तर प्रचण्डले यो गहन जिम्मेवारी काँधमा बोके । उनले यो गहन जिम्मेवारी पुरा गर्न सफल भएका छन् ।

र, अहिले उनी नेकपाको कार्यकारी अध्यक्ष बनेका छन् ।

यो अर्थमा प्रचण्डको राजनीतिक जीवन सफल देखिएको छ । नेपालको राजनीति पछिल्लो २० वर्षमा प्रचण्डको वरिपरि घुमेको छ । उनका एजेण्डाहरुको वरिपरि घुमेको छ । बीचमा केही मोडहरुमा प्रचण्डले गल्ती गरे, आफ्नैहरुले धोका दिए ।

प्रचण्डले केही अन्तर्वार्तामा भनेका छन्– क्रान्तिकारी स्कूलिङ नै नेपालको राजनीतिक परिवर्तनको मुख्य संवाहक हो । हरेक कालखण्डमा यसले नै नेपाली राजनीतिको गतिलाई धक्का दिने गरेको छ । अहिले निर्वाचनको परिणामको मुखमा आइपुग्दा प्रचण्डको यो भनाई सफल देखिएको छ । समाजको पीँधमा रहेकाहरुका मुद्दा सतहमा देखिएका छन् । वर्षौंदेखिको जड नेपाली सामन्तवादी समाजमा उथलपुथल मच्चिएको छ र यसले निकास खोजिरहेको छ । यो निकास अब भने सामाजिक समतासहितको आर्थिक समृद्धिमा लुकेको छ ।

सैद्धान्तिकरुपमा हेर्दा एकअर्थमा माओवादी जनयुद्द सम्झौतामा टुंगिएपनि नेपाल मात्रै एउटा यस्तो देश हो, जहाँ माओवादी क्रान्तिले पूर्णता हासिल गर्न नसकेपछि क्रान्तिकारी एजेण्डाहरुलाई स्थापित गर्न सफल भएको छ । नेतृत्व पुरै समर्पणवादी भएको छैन । यो अर्थमा पनि प्रचण्डको नेतृत्वलाई जस दिनुपर्ने कतिपयले बताउने गरेका छन् ।

घुमाउरो बाटो भएपनि अबको बाँकी १० वर्ष प्रचण्डले फेरी २०५२ का पुरा हुन नसकेको एजेण्डाहरुतर्फ फर्किन सके, आम गरीब निमुखा जनताका पक्षमा राज्यसत्तालाई उपयोग गर्न लोककल्याणकारी राज्यको जग बसाल्न सके, सर्वाहारा अधिनायकत्व सम्भव नभएपनि लोककल्याणकारी समाजवादी राज्य निर्माणका लागि योगदान दिन सके उनी पूर्णरुपमा सफल राजनीतिज्ञ हुनेछन् ।
र, अहिलेको नेकपा भित्रको संघर्षमा प्रचण्डले यही लाइनको पक्षधरता लिएका छन् । यही लाइनलाई गति दिन खोजेका छन् । पार्टीलाई यथास्थितिबाट माथि उकास्न, संसदवादको चंगुलबाट माथि उठाउन दुई लाईन संघर्षको शुरुआत गरेका छ्न । आशा छ, उनको यो अभियानले पूर्णता पाउने छ ।

अब नेपालमा समाजवादी क्रान्तिको आधार तयार पार्न, एकीकृत नेकपालाई जडताबाट क्रान्तिकारी पार्टीमा रुपान्तरित गर्न उनको भूमिको निर्णायक बनोस् ।

जन्मदिनको अवसरमा हार्दिक शुभकामना !

कमेन्ट गर्नुहोस्