काठमाडौं : प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका विश्वराज पोखरेल दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।
प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले पोखरेललाई एआईजीको दर्ज्यानी चिन्ह (फूली) प्रदान गरेका हुन ।
नेपाल सरकार मन्त्रीपरिषद्को २०७७ मङ्सिर २५ गतेको निर्णयअनुसार पोखरेललाई एआईजीमा बढुवा गरेको थियो ।
बढुवा भएका पोखरेलको पदस्थापना समेत भइसकेको छ । पोखरेललाई कार्य एवं अपराध अनुसन्धान विभागको जिम्मेवारी दिइएको छ ।
समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका एआईजी पोखरेललाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाकासाथ निर्वाह गर्न निर्देशन दिएका छन् ।
संगठनको थप सुदृढीकरण र विकासका लागि आगामी दिनमा नयाँ कार्ययोजना बनाई आगडि बढ्नुपर्ने आईजीपी क्षेत्रीले बताए ।
कार्यक्रममा पोखरेलले नेपाल सरकार एवम् प्रहरी संगठनले विश्वास गरी आफूलाई पदोन्नति गरेको चर्चा गर्दै उक्त विश्वासलाई रतिभर पनि प्रश्न नआउने गरी प्राप्त जिम्मेवारी वहन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानको उपस्थिति रहेको थियो ।