‘के गर्ने ?’ भन्ने विषयमा ओली समूहमा मतभेद, ‘एक कदम पछाडि हटने’ मनस्थितिमा ओली

समाचार टिप्पणी । नेकपा स्थायी कमिटिको भोली बस्ने बैठकको रणनीतिबारे ओली समूहमा मतान्तर देखिएको छ ।

स्थायी समितिको यसअघि बसेको बैठकले दुबै अध्यक्षले पेश गरेका प्रस्तावको अध्ययन गर्नका लागि सात दिनको समय दिएको थियो ।

सोही आधारमा भोली २८ गते नेकपा स्थायी समितिको बैठक बस्ने भएको छ ।

यसअघिको बैठकमा अध्यक्ष ओलीले पत्र पठाउँदै आफू नआउने जानकारी गराएका थिए ।

तर बैठकमा ओलीबाहेक अन्य सबै स्थायी समिति सदस्यको भने उपस्थिति रहेको थियो ।

भोलीको बैठकमा अध्यक्ष ओली र उनको समूह कसरी प्रस्तुत हुने भन्ने बारेमा भने कुनै टुंगो लागेको छैन ।

यो बीचको अवधिमा अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच छलफल भएपनि त्यसले कुनै सार्थक निश्कर्ष निकाल्न सकेन ।

अध्यक्ष ओली निकटकाले दुबै प्रस्ताव फिर्ता लिएर सहमति खोज्नका लागि बिभिन्न रणनीति अन्तर्गत पर्याप्त कोशीस गरेपनि त्यो समेत सार्थक हुन सकेन ।

पार्टीभित्र सहमति खोज्न नसकिने अवस्थामा अन्य कानुनी विकल्पका लागि समेत ओलीपक्षले निकै कोशिस गरेपनि त्यसमा पनि कसरी अगाडि बढ्ने भन्ने विषयमा एकमत हुन नसक्दा भोलीको बैठकमा उनीहरु एकीकृत रणनीतिका आधारमा बढने आधार अझै तय हुन सकेको छैन ।

ओली समूहमा अहिलेको विवादलाई कसरी सामना गर्ने भन्ने विषयमा तीनथरी मत स्पष्टरुपमा देखिएको छ ।

पहिलो मत पार्टी कमिटिका छलफलमा भाग लिने, स्थायी समितिको बैठकमा छलफल गर्ने र सकेसम्म सहमति खोज्ने, सहमति नजुटने अवस्थामा समय लम्ब्याएर भएपनि अनौपचारिक छलफलका लागि वातावरण बनाउने र त्यसो नभएमा केन्द्रीय समितिमा नै जानुपर्ने भएपनि गएर छलफलमार्फत नै सहमति जुटने सम्भावना खोज्ने रहेको छ । यसो भएमा प्रचण्ड समूहले भन्दै आएको विधि र पद्धती उल्लंघन गरेको आरोपबाट बच्न सकिने र समयक्रमसँगै सहमतिको वातावरण बनाउन सकिने यो समूहको ठहर छ । यद्यपी यो समूहको प्रभाव भने ओली समूहमा झिनो रहेको छ ।

याे पनि पढ्नुस  गृहजिल्लामैं अल्पमतमा परे ओली, दुई तिहाई संगठन प्रचण्ड–माधव पक्षमा

दोश्रो मत प्रचण्ड र माधव नेपालबीचको सहकार्य तोड्न अधिकतम कोशीस गर्ने र त्यसो हुन नसकेमा दुबैसँग सम्बन्धविच्छेद गर्नुपर्ने रहेको छ । सम्बन्धविच्छेद भएको अवस्थामा सकेसम्म निर्वाचन चिन्ह आफ्नो भागमा पर्ने गरी कानुनी प्रक्रिया अघि बढाउने र यसका लागि संसदीय दलमा बहुमत सिद्द गर्न कोशिस गर्ने, अध्यादेश ल्याएर दल त्यागसम्बन्धी हालको प्रावधान परिवर्तन गरी केन्द्रीय समितिको बहुमत आवश्यक नपर्ने अवस्था सिर्जना गर्ने उनीहरुको मत छ । ओली समूहभित्र निकै प्रभावशाली रहेको यो मतले सोझो टकरावका लागि ओलीलाई कन्भिन्स गरिरहेको श्रोतको दावी छ । ओली निकटका नेताहरुले अल्पमत र बहुमत भएको अवस्थामा बहुमतको निर्णय चुपचाप नस्वीकार्ने बरु पूर्व एमाले ब्यूँताउने कुरा सार्वजनिकरुपमा नै भनिसकेका छन् । अर्कोतर्फ यो मत समूहका नेताहरुले प्रचण्ड र माधव समूहसँग अत्यन्तै असहिष्णु तवरले सार्वजनिकरुपमा आरोप, प्रत्यारोप लगाउने काम समेत तीब्र पारेका छन् । गैर राजनीतिक चरित्र बोकेको यो समूहले अध्यक्ष ओलीलाई बैठकमा सहभागी नहुन र प्रचण्ड पक्षले जे गर्छ, त्यही अनुरुप जवाफ दिने सल्लाह दिँदै आएको छ ।

याे पनि पढ्नुस  प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि नेकपा स्थायी समितिमा छलफल जारी

पछिल्लो समयमा ओलीका कदम समेत यही समूहका कारण विवादमा परेको ठहर प्रचण्ड पक्षको छ । भदौ २६ को सहमति भइसकेपछि त्यसलाई कार्यान्वयनमा लैजानुको साटो बैठक नै बस्न नदिने, बैठक बस्न लिखित अनुरोध गर्दा समेत बैठक आव्हान गर्नुको साटो लिखित पत्र लेख्न ओलीलाई उक्साउने काम यो समूहल गरेको कुरा वामदेव गौतमले बैठकमा नै उठाएका थिए । त्यसपछिका दिनमा समेत यो समूहले पार्टी विभाजन भए होस् तर झुक्नु हुन्न भन्ने गैर माक्र्सवादी चिन्तनका आधारमा इगो साँध्न खोजेको आरोप माधव नेपाल पक्षका कतिपय नेताले लगाउँदै आएका छन् ।

ओली पक्षभित्र तेश्रो मत स्वयम् ओलीको देखिन्छ । ओलीसँग पछिल्लो दिनमा भेट गरेका एक नेताका अनुसार परिस्थिति जटिल हुनसक्ने भएकोले एक कदम पछि हटनुपर्ने मनस्थितिमा छन् । यसको अर्थ अहिले नै पार्टी विभाजन गरिएमा दलको चुनाव चिन्ह पनि नपाइने र त्यो नपाइने अवस्थामा आम नेता, कार्यकर्ता तथा समर्थक आफ्नो पक्षमा नहुने आँकलन ओलीको छ । बहुमतले पेल्दै लगेको कुरालाई स्वीकार गर्न नसकेको ओली प्रचण्ड पक्षबाट प्रस्ताव फिर्ता लिने र नयाँ सहमति खोज्ने शर्तमा आत्मालोचना गर्ने मूडमा रहेका छन् । प्रचण्ड पक्ष नरम भएको अवस्थामा अध्यक्ष पदबाट राजिनामा दिने या महाधिवेशनसम्म सेरेमोनियल प्रकृतिको अध्यक्ष बस्ने गरी सहमति गर्न ओली तयार हुन सक्छन् ।

यो बीचमा ओली पक्षले महाधिवेशनमा समेत समूहगत र संख्यात्मक अवस्था के हुन्छ भनेर राम्रैसँग गृहकार्य गरेको ओली निकट श्रोतले बतायो । तर महाधिवेशनमा जाँदा प्रचण्ड र माधव नेपालको कार्यगत एकता यही किसिमले कायमै रहेको खण्डमा त्यहाँ पूर्व समूहको मनोविज्ञानका आधारमा मात्रै जित्न नसकिने उनीहरुको ठहर छ । त्यसैले महाधिवेशनमा समेत अल्पमतमा पर्ने अवस्था देखिएपछि केपी ओलीले एक कदम पछाडि हटेर समेत आफ्नो समूहको राजनीतिक भविष्य सुरक्षित गर्ने रणनीति लिन सक्ने आँकलन उनी निकटले गरेका छन् ।

याे पनि पढ्नुस  निर्वाचन आयोगलाई प्रचण्ड–माधव पक्षको जवाफः बहुमत संख्या रहेको पक्ष स्वतः मूल पार्टी, मागदाबी गरिरहन पर्दैन

केपी ओलीले हदैसम्मको कठोरता देखाउने र प्रचण्ड पक्षले छलफलबाटै समस्या समाधान गर्ने अडान लिने अवस्थामा ओलीका अगाडि पछाडि हटने या अध्यादेशमार्फत विधेयक ल्याएर निर्वाचन चिन्ह सुरक्षित हुने गरी एमाले ब्यूँताउने बाहेक अरु विकल्प हुने देखिन्न । कतिपयले उनले आन्तरिक सुरक्षा (खासगरी राजावादी र विप्लवहरुबाट) को कुरा देखाएर संसद विघटन र निर्वाचनको घोषणा गर्नसक्ने समेत आँकलन गरेका छन् । तर ओलीका अगाडि यो बाटो समेत सहज नभएको उनी निकट नेताहरु बताउँछन् ।

कुनै पनि विकल्प सहज नभएको अवस्थामा ओलीले तत्कालका लागि एक कदम पछि हटने र महाधिवेशनसम्म प्रचण्ड र नेपालबीचको गठबन्धन भत्काउने रणनीति अख्तियार गर्न सक्ने सम्भावना अहिले बलियो छ । तर यसका लागि सरकारमा रहिरहने उनको रणनीति हुन सक्नेछ । पार्टी अध्यक्षबाट बाहिर भएपनि सरकारमा रहिरहे प्रचण्ड नेपालको गठबन्धन भत्काएर महाधिवेशनमा बलियो बन्नसक्ने उनले सोचेका हुन सक्छन् ।

यद्यपी नेता नेपालले भने अब पूर्व समूहका आधारमा पार्टी विभाजन या समुहमा बिभाजन नहुने स्पष्ट पारेका छन् ।

कमेन्ट गर्नुहोस्