काठमाडौंः नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले प्रवक्ता नारायणकाजी श्रेष्ठबारे सार्वजनिक भिडियो–अडियोको भ्रममा नपर्न अनुरोध गरेका छन् ।
आइतबार दिउँसो बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा बोल्दै प्रचण्डले श्रेष्ठबारे सार्वजनिक अडियो–भिडियोको भ्रममा नपर्न आग्रह गरेका हुन् ।
प्रचण्डले भने, ‘हाइड्रो पावरको सेयर विवादमा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक रुपमा मुछेर जुन प्रचार भएको छ, त्यस भ्रममा नपर्न र त्यस्तो प्रचारमा नलाग्न अनुरोध गर्दछु ।’
सम्बन्धित समाचारः आधा घण्टामै सकियो नेकपा स्थायी कमिटी बैठक, के–के भयो ?
प्रचण्डले कमानसिंह लामा र हाइड्रोपावरको विवादमा पार्टी प्रवक्ता श्रेष्ठलाई अनावश्यक रुपमा जोडेर प्रचार भएको बताए । श्रेष्ठले लामा र हाइड्रो पावरको व्यक्तिलाई सँगै राखेर कुरा गरेको र श्रेष्ठले तपाईंहरू मिल्नसुबाहेक अन्य केही कुरा नगरेकोले भ्रममा नपर्न आग्रह गरे ।
बैठकको निर्णय सुनाउने क्रममा पार्टी प्रवक्ता श्रेष्ठले प्रचण्डको भनाई उदृत गर्दै भने, ‘अध्यक्ष प्रचण्डले लामाको निधनबाट शोकाकुल र दुःखित रहेको घडीमा लामा र हाइड्रो पावर सम्बन्धी सामान्य विवादमा पार्टीका प्रवक्तालाई अनावश्यक रुपमा मुछेर भएका प्रचारको भ्रम नपर्न अनुरोध गर्नुभएको छ ।’
के हो विवाद ?
कोरोना भाइरसको संक्रमणका कारण नेकपा केन्द्रीय सदस्य तथा पूर्वराजदूत लामाको बिहीबार बिहानै निधन भयो । निधन भएकै साँझ लामासँग श्रेष्ठले गरेको भिडियो तथा अडियो क्लिप सार्वजनिक भयो ।
भिडियो तथा अडियो क्लिपमा दुई करोड ५० लाख रुपैयाँ लेनदेनको विषय छ । श्रेष्ठ र लामाबीचको कुराकानीमा श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्य र लामाकी पत्नी इन्द्रमायाको नाम अगाडि आएको छ । भिडियो र अडियोमा देखिएका सुनिएका संवादमा श्रेष्ठले लामा, सुसन कर्माचार्य र इन्द्रा तामाङबीचको विवादलाई मिलाउने प्रयास गरेको स्पष्टै देखिन्छ ।
यो विवादको मुख्य विषयचाहिँ ८ करोडको प्रोजेक्टमा ३० प्रतिशत अर्थात् २ करोड ५० लाखको शेयर लगानी नगरी सुसनका नाममा लामाले गरेका थिए । बैंकबाट लिएको ऋणको ब्याज शतप्रतिशतको आफूले मात्रै तिर्नुपर्ने भएपछि लामाले उक्त गुनासो गरेको सुन्न सकिन्छ ।
सम्बन्धित समाचारः महरापछि निशानामा नारायणकाजी, अनुसन्धान गर्न खुला चुनौती
उपप्रधान तथा परराष्ट्र मन्त्री भएका बेला श्रेष्ठले लामालाई दक्षिण कोरियाका राजदूत बनाएर पठाएका थिए । त्यसपछि लामाले आफ्नो ८ करोडको लगानीमा बिना पैसा सुसनका नाममा साढे २ करोडको शेयर ट्रान्सफर गरिदिएका थिए ।
र्सावजनिक अडियो भिडियोमा श्रेष्ठले भनेका छन्, ‘तपाईँ, सुसन र इन्द्रा तीनै जना मेरो मान्छे । मेरो परिवारभित्रको मान्छे यो विवाद मिलाउनेतिर लाग्नुस्, ।’
के भन्छन् नारायणकाजी ?
श्रेष्ठले भने सार्वजनिक भिडियो तथा अडियोमा केही आपत्तिजनक कुरा नरेहको बताउँछन् । उनले आफूले गलत गरेको भए जोसुकैले जुनसुकै स्तरको अनुसन्धान गर्न सक्ने बताए ।
‘कमानसिंह लामा र म लामो समयदेखिको सहयोद्धा हौँ, एउटा हाइड्रोको सेयरको विवादमा उहाँकै अनुरोधमा मैले मध्यस्थता गर्न खोजेको हुँ’, उनले भनेका छन्, ‘बाहिर आएको अडियो मैले पनि सुनेँ, त्यसमा केही आपत्तिजनक छ भन्ने मलाई लाग्दैन । म गलत छु भन्ने लाग्छ भने जोसुकैले जुनसुकै स्तरको अनुसन्धान गरे पनि हुन्छ ।’
उनले चरित्रहत्या गर्न खोज्नेलाई चुनौंती दिँदै भने, ‘कहीँनिर थोरै पनि दोषी देखिए म दण्ड भोग्न तयार छु ।’