कञ्चनपुर जिल्लाको महत्वपूर्ण हुलाकी सडकको काम अलपत्र परेको छ ।
दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका र उत्तरमा राजमार्ग हुँदै वेदकोट नगरपालिका जोडने ६२ किलोमिटर हुलाकी सडक ठेकेदारको बेवास्ताका कारण अलपत्र भएको हो । ।
चार वर्ष पुरा हुँदा समेत सडक बन्न नसकेपछि स्थानीयले पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गरेका छन् । जबकि उक्त सडक अढाई वर्षमा सम्पन्न गर्ने ग री ठेक्का सम्झौता भएको थियो ।
कान्तिपुर दैनिकमा प्रकाशित समाचारका अनुसार, कञ्चनपुरमा हुलाकी सडक निर्माणका लागि २०७३ मा तीन खण्डमा ठेक्का सम्झौता भएको थियो । २०७६ असाररसाउनमा काम सक्ने समयावधि तोकिएको थियो । तीनवटै चरणको समयावधि पटक–पटक थप मात्रै भइरहेको छ ।
कान्तिपुर दैनिकमा यससम्बन्धी समाचार प्रकाशित भएको छ । समाचारमा अगाडि उल्लेख छः
‘चार वर्षसम्म ७० प्रतिशत मात्रै प्रगति भएको छ,’ हुलाकी सडक आयोजना धनगढीका इन्जिनियर पदम मडैले भने, ‘अहिले पनि जुन गतिमा काम हुनुपर्थ्यो त्यो अनुसार भइरहेको छैन ।’ उनका अनुसार हालसम्म १५ किलोमिटर मात्रै कालोपत्र भएको छ ।
डोकेबजारदेखि बेलौरी नगरपालिकाको बुटाबारीसम्म २० किलोमिटर पहिलो खण्ड र बेलडाडीदेखि दैजीसम्मको २२ किलोमिटर तेस्रो खण्डको सडक निर्माणका लागि २०७३ साउनमा शर्मा राजेन्द्र जेभीसँग ठेक्का सम्झौता भएको थियो । पहिलो खण्डको ३५ करोड र तेस्रो खण्डको ४० करोडमा सम्झौता भएको हो । पहिलो र तेस्रो खण्डको सडक निर्माणका लागि तीन पटक थप गरिएको म्याद पनि सकिएको छ । अहिले पर्खाल निर्माण र माटो भरानको काम चलिरहेको छ ।
यसैगरी बुटाबारीदेखि बेलडाडीसम्मको २० किलोमिटर सडक निर्माणका लागि २०७३ पुसमा बाबा हंससिद्धि शाही जेभीसँग ४१ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । उक्त खण्डको म्याद २०७६ असारमै सकिएको हो । दुई पटक थप गरेको समय पनि सकिएको छ । ‘अहिले त काम पनि भइरहेको छैन,’ इन्जिनियर मडैले भने, ‘वाल बनाउने र कल्भर्ट निर्माणको सबै काम सकिएको छ, तर कालोपत्र हुन सकेको छैन ।’ निर्माण कम्पनीहरूको क्षमता कम हुने तथा ठूल्ठूला ठेक्काहरू ओगटेर बस्ने प्रवृत्तिका कारण हुलाकी सडकले गति लिन नसकेको उनले बताए ।
पहिलो र तेस्रो खण्डमा भौतिक प्रगति बढी भए पनि दोस्रो खण्डमा एकरडेढ वर्षदेखि काम रोकिएको छ । ठेकेदार दीपेन्द्र शाही सम्पर्कमा छैनन् । पटक–पटक लिखित पत्र काट्दा पनि सम्पर्कमा नआएको दोस्रो र तेस्रो खण्ड हेरिरहेका इन्जिनियर मोहनचन्द्र हमालले बताए । ‘पछिल्लो पटक बैंक ग्यारेन्टी तान्ने प्रक्रियामा गइसकेका छौं,’ उनले भने, ‘ज्वाइन्ट भेन्चरमा भारतीय निर्माण कम्पनी पनि भएकाले उसलाई पनि हामीले ताकेता गरिसकेका छौं ।’ बाबा हंस भारतीय कम्पनी हो । उनका अनुसार बाबा हंससिद्धि शाहीले कामदारको ज्याला र निर्माण सामग्रीको भुक्तानीसमेत नदिएको खुलेको छ । निर्माण कार्यमा प्रयोग भइरहेका साधनहरू प्रहरी चौकीमा राखिएको छ ।