कैलालीःनेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई संवैधानिक परिषदको बैठकमा नजान सुझाव दिएका छन् । कैलालीको धनगढीमा मंगलबार बिहान पत्रकार सम्मेलनमा उनले देउवालाई उक्त सुझाव दिएका हुन् ।
उनले देउवालाई सुझाव दिँदै भने, ‘संवैधानिक परिषदको सदस्यसमेत रहने उपसभामुख पद संविधानतः नेपाली कांग्रेसले पाउने भएकैले अहिलेसम्म सत्तापक्षले चयन प्रक्रिया अगाडि बढाएको छैन । त्यसकारण आज बोलाइएको संवैधानिक परिषदको बैठकमा सभापति ज्यूलाई नजान सुझाव दिन्छु । उपसभामुख चयन भएपछि मात्रै बैठकमा जाँदा राम्रो हुन्छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान बालुवाटारमा संवैधानिक परिषदको बैठक बोलाएका छन् । यसअघि आइतबार बोलाएको परिषदको बैठकमा विपक्षी दल नेपाली कांग्रेसका सभापति देउवा उपस्थित नभएपछि स्थगित भएको थियो ।
प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभामा विपक्षी दलका नेता तथा उपसभामुख रहने व्यवस्था छ । संवैधानिक परिषदको बैठकमा प्रमुख विपक्षी दलको नेता अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महिला आयोगलगायत विभिन्न संवैधानिक निकायमा गरी ४० भन्दा बढी पद रिक्त छन् ।
ओलीले संवैधानिक परिषदको बैठक बोलाएपछि नेकपा विवाद झन उत्कर्षमा पुगेको छ । संवैधानिक पदमा नियुक्ति गर्दा पार्टीको सहमति र सल्लाह गर्नुपर्ने भन्दै नेकपाको गद भदौ २६ को बैठकले निर्णय गरेको थियो । यसअघि नै मन्त्रीमण्डल पुनर्गठन तथा राजदूत नियुक्तिमा भदौ २६ को सहमति पालना नभएको आरोप कार्यकारी अध्यक्ष प्रचण्ड पक्षले लगाएपछि विवाद चुलिएको थियो ।
सम्बन्धित समाचारः
प्रम ओलीले संवैधानिक परिषदको बैठक बोलाएपछि नेकपा विवाद झन उत्कर्षमा
सरकारविरुद्व सडकमा उत्रिएको भोलिपल्टै कांग्रेसले खोज्ला त संवैधानिक निकायमा भाग ?