बेलुकी ५ बजेका लागि फेरी बोलाइयो संवैधानिक परिषद्को बैठक

काठमाडौं । सभामुख अग्नी सापकोटा अनुपस्थित भएपछि रद्द भएको संवैधानिक परिषदको बैठक फेरी आज साँझका लागि बोलाइएको छ ।

आज बिहान बोलाइएको बैठकमा सभामुख सापकोटा नगएपछि कोरम पुग्न सकेको थिएन ।

त्यसपछि प्रधानमन्त्री तथा परिषद् अध्यक्ष केपी शर्मा ओलीले साँझ ५ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् ।

याे पनि पढ्नुस  अख्तियार प्रमुखमा राई सिफारिस

आज बिहानको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना मात्रै उपस्थित थिए । संवैधानिक परिषद्सम्बन्धी ऐनमा बैठक बस्न ६ सदस्यीय परिषद्का कम्तीमा पाँच जना उपस्थित हुनै पर्ने प्रावधान छ ।

प्रधानमन्त्रीको अध्यक्षता रहने परिषद्‌मा प्रमुख प्रतिपक्ष दलको नेता, प्रधान न्यायाधीश, सभामुख, उपसभामुख र राष्ट्रिय सभा अध्यक्ष सदस्य हुन्छन् । उपसभामुख पद अहिले रिक्त रहेकाले बैठकका लागि अहिले कायम रहेका पाँचै जना अनिवार्य उपस्थित हुनै पर्ने अवस्था छ ।

याे पनि पढ्नुस  संवैधानिक परिषद्को बैठकले कुनै निर्णय गरेको छैनः ओली

विभिन्न संवैधानिक आयोगमा नियुक्ति सिफारिसका लागि बस्न लागेको परिषद् बैठकका लागि सदस्यहरुसँग समन्वय नगरेको र प्रक्रिया समेत नपुगेको भन्दै सभामुख सहभागी भएका थिएनन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोगलगायत विभिन्न संवैधानिक आयोगमा ४५ पदमा नियुक्तिका लागि परिषद्को बैठक राखिएको हो । यसअघि आइतबार बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता देउवा पनि गएका थिएनन् । उक्त बैठकमा सभामुख सापकोटा पनि अनुपस्थित थिए ।

कमेन्ट गर्नुहोस्