बेलुकी ५ बजेका लागि फेरी बोलाइयो संवैधानिक परिषद्को बैठक

काठमाडौं । सभामुख अग्नी सापकोटा अनुपस्थित भएपछि रद्द भएको संवैधानिक परिषदको बैठक फेरी आज साँझका लागि बोलाइएको छ ।

आज बिहान बोलाइएको बैठकमा सभामुख सापकोटा नगएपछि कोरम पुग्न सकेको थिएन ।

त्यसपछि प्रधानमन्त्री तथा परिषद् अध्यक्ष केपी शर्मा ओलीले साँझ ५ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् ।

याे पनि पढ्नुस  ओलीलाई फेरि झट्काः अध्यादेशपछि देउवा संवैधानिक परिषद्को बैठकमा नजाने

आज बिहानको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना मात्रै उपस्थित थिए । संवैधानिक परिषद्सम्बन्धी ऐनमा बैठक बस्न ६ सदस्यीय परिषद्का कम्तीमा पाँच जना उपस्थित हुनै पर्ने प्रावधान छ ।

प्रधानमन्त्रीको अध्यक्षता रहने परिषद्‌मा प्रमुख प्रतिपक्ष दलको नेता, प्रधान न्यायाधीश, सभामुख, उपसभामुख र राष्ट्रिय सभा अध्यक्ष सदस्य हुन्छन् । उपसभामुख पद अहिले रिक्त रहेकाले बैठकका लागि अहिले कायम रहेका पाँचै जना अनिवार्य उपस्थित हुनै पर्ने अवस्था छ ।

याे पनि पढ्नुस  सकियो संवैधानिक परिषद्को बैठक, के गर्‍यो निर्णय?

विभिन्न संवैधानिक आयोगमा नियुक्ति सिफारिसका लागि बस्न लागेको परिषद् बैठकका लागि सदस्यहरुसँग समन्वय नगरेको र प्रक्रिया समेत नपुगेको भन्दै सभामुख सहभागी भएका थिएनन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोगलगायत विभिन्न संवैधानिक आयोगमा ४५ पदमा नियुक्तिका लागि परिषद्को बैठक राखिएको हो । यसअघि आइतबार बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता देउवा पनि गएका थिएनन् । उक्त बैठकमा सभामुख सापकोटा पनि अनुपस्थित थिए ।

कमेन्ट गर्नुहोस्