काठमाडौैंः विवेकशील साझा पार्टीले उखु किसानका माग पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ ।
चिसोमा किसानले आन्दोलन पटक–पटक गर्नुपर्ने अवस्था किन आयो र माग पूरा गर्न कसले रोक्छ ? भनेर उक्त पार्टीले प्रधानमन्त्री ओलीलाई प्रश्न गरेको छ ।
उसले भनेको छ, ‘प्रधानमन्त्री ज्यू ! अति भयो, किसानको माग पूरा गरेर समाजवादको लाज छोपौं ।’
उखु किसानले काठमाडौंमा फेरि आन्दोलन गरिरहेका छन् । गत वर्षको पुस १६ गते भएको सम्झौता कार्यान्वयन गर्न माग गर्दै उनीहरूले सोमबारदेखि काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका छन् । उनीहरूले चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिने सरकारले गरेको बाचा पुरा नभएको गुनासो गरेका छन् ।
उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले चार वटा चिनी मिलबाट उखु किसानले अझै ५२ करोड भन्दा धेरै बक्यौता पाउन बाँकी रहेको जानकारी दिए ।
श्रीराम सुगर मिलले २६ करोड, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख, लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख तथा अन्नपूर्ण सुगर मिलले १७ करोड रुपैयाँ किसानलाई बुझाउन बाँकी रहेको छ ।