सरकारले ल्यायो संवैधानिक परिषद्सम्बन्धि अध्यादेश, नेकपा विवाद झनै चर्किने 

काठमाडौंः सरकारले संवैधानिक परिषद्सम्बन्धि अध्यादेश ल्याएको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अध्यादेश जारी गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान संवैधानिक परिषद्को बैठक बोलाएका थिए । तर, बैठकमा सभामुख सापकोटा अनुपस्थित भएपछि बैठक बस्न सकेन ।

आजै साँझ ५ बजे बैठक बोलाएका ओलीले त्यसअघि अध्यादेश जारी गरेका हुन् ।

याे पनि पढ्नुस  ओलीसँग दुई विषयमा मात्रै सहमतिः प्रचण्ड सचिवालय

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलका नेता तथा उपसभामुख रहने व्यवस्था छ । यसअघि परिषद अध्यक्ष र ४ जना सदस्य उपस्थित भएमात्र बैठकका लागि गणपूरक संख्या पुगेको मानिने व्यवस्था थियो । अध्यादेशपछि बहुमत सदस्यको उपस्थितिमै संवैधानिक परिषदको बैठक बस्न सक्नेछ । परिषदमा एकजना सदस्य (उपसभामुख) पद रिक्त छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महिला आयोगलगायत विभिन्न संवैधानिक निकायमा गरी ४० भन्दा बढी पद रिक्त छन् ।

यसअघि मंसिर २८ गते आइतबार पनि परिषद्को बैठक बोलाइएको थियो । सभामुख अग्निप्रसाद सापकोटा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतको उपस्थिति नभएपछि बैठक स्थगित भएको थियो ।

याे पनि पढ्नुस  सहमति उल्लङ्घन गर्दै ओलीले संवैधानिक परिषद् बैठक बोलाएपछि प्रचण्ड बालुवाटारमा

ओलीले संवैधानिक परिषद्सम्बन्धि अध्यादेश ल्याएपछि नेकपा विवाद झन चर्किने सम्भावना छ । ओलीले संवैधानिक निकायमा एकलौटी रुपमा नियुक्ति गर्न लागेको भन्दै नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड–वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष असन्तुष्ट छ ।

संवैधानिक पदमा नियुक्ति गर्दा पार्टीको सहमति र सल्लाह गर्नुपर्ने भन्दै नेकपाको गद भदौ २६ को बैठकले निर्णय गरेको थियो । यसअघि नै मन्त्रीमण्डल पुनर्गठन तथा राजदूत नियुक्तिमा भदौ २६ को सहमति पालना नभएको आरोप कार्यकारी अध्यक्ष प्रचण्ड पक्षले लगाएपछि विवाद चुलिएको थियो ।

याे पनि पढ्नुस  संवैधानिक परिषद्को बैठकले कुनै निर्णय गरेको छैनः ओली

आज साँझ बैठक बसेर ओलीले संवैधानिक निकायमा गरी रिक्त ४० भन्दा बढी पदमा एकलौटी रुपमा नियुक्ति गरेमा नेकपा विवाद झनै संकटमा पर्नेछ ।

सम्बन्धित समाचारः
सरकारविरुद्व सडकमा उत्रिएको भोलिपल्टै कांग्रेसले खोज्ला त संवैधानिक निकायमा भाग ?

प्रम ओलीले संवैधानिक परिषदको बैठक बोलाएपछि नेकपा विवाद झन उत्कर्षमा

गगन थापाले देउवालाई भने– संवैधानिक परिषदको बैठकमा नजानोस्

संवैधानिक परिषद बैठकः देउवा उपस्थित, सभामुख सापकोटा अनुपस्थित

बेलुकी ५ बजेका लागि फेरी बोलाइयो संवैधानिक परिषद्को बैठक

सभामुख सापकोटाको अडानले रोकियो अर्को दुर्घटना

कमेन्ट गर्नुहोस्