दैलेख : दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको नौमुले गाउँपालिका– द्वारीका ५८ वर्षीय हरीलाल पुन रहेका छन् । पत्रकार थापाको हत्यामा संलग्न ठहर भएका पुनलाई प्रहरीले सोमबार घरबाटै पक्राउ गरेको हो ।
पत्रकार थापाको हत्यामा संलग्न ९ जनामध्ये पुनलाई पक्राउ गरेर मंगलबार जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले जानकारी दिए।
जिल्ला अदालत दैलेखले २०७१ मंसिर २१ गते पत्रकार थापाको हत्यामा संलग्न रहेको भन्दै ९ जनालाई दोषी ठहर गरेको थियो । फैसलामा पुनलाई २ वर्ष कैद सजाय तोकिएको थियो ।
न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले तत्कालीन अवस्थामा पक्राउ परेका पुनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनी १ वर्ष ७ महिना १ दिन जिल्ला कारागारमा थुनामा रहेका थिए ।
थुनामा रहेको अवस्थामा पुन तत्कालीन पुनरावेदन अदालत सुर्खेतबाट बन्दी प्रत्यक्षीकरण अनुसार थुनामुक्त भएका थिए। पुनरावेदन अदालत सुर्खेतको आदेशमा उनी थुनामुक्त भइसकेपछि जिल्ला न्यायाधीश श्रेष्ठकै इजलासले २ वर्ष कैद सजाय तोकेको थियो ।
त्यसयता उनी फरार रहेको खुलाएको र ४ महिना २९ दिन कैद भुक्तान बाँकी रहेकाले पक्राउ गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए ।