काठमाडौंः नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग दुई विषयमा मात्रै सहमति भएको अर्का अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र संसदको विशेष अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाइएको पत्र फिर्ता लिनेबाहेक अन्य केहीसहमति नभएको प्रचण्डको सचिवालयले जनाएको छ ।
केही मिडियामा एक–अर्कालाई लगाएको आरोपपत्र फिर्ता लिने, भदौ २६ गतेको स्थायी कमिटी बैठकले गरेका निर्यणअनुसार अगाडि बढ्ने ओली–प्रचण्डबीच सहमति भएको भन्ने समाचार सञ्चारमाध्यममा आएपछि प्रचण्डको सचिवालयले सहमतिबारे स्पष्ट पारेको हो ।
ओलीसँग भएको सहमतिबारे प्रचण्डका स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जालमा लेखेकी छन्ः
आज प्रधानमन्त्री र कार्यकारी अध्यक्षका बिच भएको सहमतिः
१. सरकारद्वारा ल्याइएको अध्यादेश फिर्ता गर्ने ।
२. संसदको विशेष अधिवेशन बोलाउन राष्ट्रपतिलाई बुझाइएको पत्र फिर्ता गर्ने ।
यि दुई सहमतिबाहेक अरु कुनै पनि सहमति भएको छैन ।
बुधबार ४ बजे बसेको स्थायी कमिटी बैठकले पनि अध्यादेश र संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाइएको पत्र फिर्ता लिने निर्णय मात्रै गरेको पत्रकारलाई नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए ।
आजकै बैठकमा ओलीले मंगलबार बसेको संवैधानिक परिषद्को बैठकमा कुनै सहमति नभएको जानकारी गराएका छन् ।
स्थायी कमिटी बैठक पुस ५ गते बस्ने छ । यसअघि ५ गतेका लागि तय केन्द्रीय कमिटी बैठक १० गतेका लागि सरेको छ ।