नेपालका केही स्थानमा समुदायमा नै काेराेना प्रतिरोध क्षमता बनेको अनुमान

साउन/भदौ महिनामा प्रदेश नं २ का जिल्लाहरूमा कोरोनाभाइरसको सङ्क्रमण तीव्र फैलिएको थियो।

एक त ठूलो जनघनत्व भएको क्षेत्र अर्को भाइरसको चपेटामा परिरहेको भारतीय सिमानासँग जोडिएको ठाउँ भएकाले प्रदेश २ मा त्यतिखेर सङ्क्रमणको चाप निकै परेको थियो।

तर हिजोआज उक्त प्रदेशमा नयाँ सङ्क्रमित सङ्ख्या देशका अन्य भागमा भन्दा कम देखिन्छ।

गत सात दिनको सरकारी तथ्याङ्क केलाउँदा त्यहाँ पूरै प्रदेशमा एक दिन पनि ५० भन्दा धेरै सङ्क्रमित भेटिएका छन्, अझ केही दिन त १० भन्दा कम सङ्क्रमित फेला परिरहेका छन्।

यसको अर्थ के हो त?

विश्वका अन्य देशहरूको अनुभव हेर्दा पनि धेरै सङ्क्रमित भएका ठाउँठाउँमा बिस्तारै भाइरस ओरालो लाग्ने गरेको देखिन्छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीको विचारमा प्रदेश नं २ का केही ठाउँमा अहिले ‘हर्ड इम्यूनिटी’को अवस्था देखा परेको छ। कुनै समुदायका धेरै सदस्य सङ्क्रमित हुँदा भाइरसले नयाँ सङ्क्रमण गराउन नसक्ने अवस्था पैदा हुनुलाई ‘हर्ड इम्यूनिटी’ भन्ने गरिन्छ।

वैज्ञानिकहरूका अनुसार जनसङ्ख्याको ६०-७० प्रतिशत मानिसमा खोप लगाएर वा सङ्क्रमण झेलेर प्रतिरोध क्षमता विकास भएको अवस्थामा हर्ड इम्यूनिटी बन्छ।
तर यहाँ त्यति धेरै मानिस सङ्क्रमित भइसकेको अवस्था भने छैन।

सेप्टेम्बरमा उच्च सङ्क्रमण हुँदा देशभरि गरिएको “सिरो प्रिभलेन्स सर्भे” अर्थात् कतिलाई सङ्क्रमण भइसक्यो भनेर गरिएको जाँचले औसतमा १४ प्रतिशत मात्र सङ्क्रमित भएको देखाएको थियो।

त्यो सङ्ख्याले हर्ड इम्यूनिटीको तस्बिर देखाउँदैन किनभने अझै अत्यधिक जनसङ्ख्या भाइरसको जोखिममै छन्।

कोरोनाभाइरस सङ्क्रमणले फोक्सोमा दीर्घकालीन असर’नेपालमा अहिलेसम्म साढे दुई लाख जनामा कोरोनाभाइरस सङ्क्रमण’

“तर एकताका निकै उच्च सङ्क्रमण भेटिएका प्रदेश २ का निश्चित स्थानका समुदायमा चाहिँ हर्ड इम्यूनिटीजस्तै देखिएको छ। त्यसैले अचेल त्यहाँ सङ्क्रमण स्थिर भएको छ,” डा. कार्कीले बताए।

“सबै ठाउँमा त्यस्तो देखिएको भने छैन।”

धेरै सङ्क्रमण देखिएका वाग्मती प्रदेश तथा प्रदेश नं २ मा भाइरसको प्रसार केही सुस्त हुनसक्ने कारण स्वाभाविक रहेको महामारी रोग विशेषज्ञ डा. बाबुराम मरासिनी पनि बताउँछन्।

“हर्ड इम्यूनिटी नै भयो भनेर भन्ने स्पष्ट आधार त छैन तर भाइरस सङ्क्रमणको प्रकृति नै साइकल (चक्र) वा चरण/लहरमा आक्रमण गर्ने हुन्छ। एकचोटि उच्च बिन्दुमा पुग्छ र ओर्लिन्छ,” डा. मरासिनीले भने।

दोस्रो लहरको खतरा अझै उच्च

तर सङ्क्रमण नभएका (वा सङ्क्रमण भएको लामो समय बितिसकेपछि फेरि सङ्क्रमण हुने जोखिम बढेको अवस्था) र खोप नलगाएका मानिस रहेसम्म कुनै बेला भाइरस सुस्तायो भन्दैमा त्यो हराएको मान्न नसकिने उनले बताए।

डा. कार्की पनि सो कुरा स्वीकार्छन्।

“हामीलाई अब डर दोस्रो लहरको छ। जोखिममा रहेका मानिसमा भाइरस सल्किन थाल्यो भने फेरि सङ्क्रमण उच्च हुनसक्छ,” डा. कार्कीले भने।

विश्वका केही धनी मुलुकहरूमा प्रभावकारी खोपको प्रयोग हुन थालिसकेको छ। तर ती खोप नेपालमा कहिले आउने हुन्, ठेगान छैन। खोपको आपूर्ति, भण्डारण, खोप लगाउने मानिसको वर्गीकरण र प्राथमिकीकरणजस्ता विषय अझै अन्योलमै छन्।

यस्तो बेला सर्वसाधारण नागरिकका निम्ति मास्क लगाउने, दूरी कायम गर्ने, हातको सरसफाइ गर्ने र भिडभाडमा नजानेजस्ता जनस्वास्थ्यका मापदण्ड पालना गर्नु नै युक्तिसङ्गत हुने विज्ञहरूको सल्लाह छ। बिबिसीबाट

कमेन्ट गर्नुहोस्