काठमाडौंः उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आन्दोलनरत उखु किसानहरूलाई भेटेका छन् । शुक्रवार उनले माइतीघर मण्डलामा पुगेर आन्दोलनरत किसानहरूलाई भेटेका हुन् ।
सो क्रममा मन्त्री भट्टले शनिबार (भोलि) उखु किसानहरूले सबै भुक्तानी रकम पाउने आश्वासन दिएका छन् । उनले भने, ‘शनिबार वाणिज्य रौतहटको बैंकका शाखाबाट उखु किसानहरूलाई रकम भुक्तानी गरिन्छ । शनिबार पनि रकम भुक्तानी नगर्ने मिल सञ्चालकहरूलाई पक्राउ गरेर कारबाही गछौं ।’
भट्टले भुक्तानीका लागि शनिबार पनि वाणिज्य बैंकहरूको शाखाहरू खुला गर्ने जानकारीसमेत दिए ।
उखु किसानले काठमाडौंमा फेरि आन्दोलन गरिरहेका छन् । गत वर्षको पुस १६ गते भएको सम्झौता कार्यान्वयन गर्न माग गर्दै उखु किसानहरूले सोमबारदेखि काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका छन् । उनीहरूले चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिने सरकारले गरेको बाचा पुरा नभएको गुनासो गरेका छन् ।
उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले चार वटा चिनी मिलबाट उखु किसानले अझै ५२ करोड भन्दा धेरै बक्यौता पाउन बाँकी रहेको जानकारी दिए ।
श्रीराम सुगर मिलले २६ करोड, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख, लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख तथा अन्नपूर्ण सुगर मिलले १७ करोड रुपैयाँ किसानलाई बुझाउन बाँकी रहेको छ ।

यता भुक्तानी दिन आनाकानी गर्ने ४ उखु मिल सञ्चालकहरूलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशनमा प्रहरीले पुर्जी समेत जारी गरेको छ ।