नैरोबी : बुरुण्डीका पूर्वराष्ट्रपति पिएरे बुयोयाको निधन भएको छ । कोरोना भाइरसबाट संक्रमित भएका बुयोयाको ७१ वर्षको उमेरमा निधन भएको हो ।
फ्रान्सको राजधानी पेरिसमा उपचार भइरहेका बेला उनको निधन भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।
अफ्रिकी युनियनबाट माली र सहेलका लागि विषेश दूतको जिम्मेवारीमासमेत रहेका बुयोयाले केही हप्ताअघि मात्रै त्यस पदबाट राजीनामा दिएका थिए ।
सानो अफ्रिकी मुलुक बुरुण्डीमा लोकतन्त्र स्थापनाका लागि उनले ठूलो योगदान गरेको श्रेय दिने गरिन्छ ।
अस्वस्थ भएपछि उनलाई सुरुमा मालीको राजधानी बामाकोमा रहेको अस्पतालमा भर्ना गरिएको थियो । तर, त्यहाँ सुधार नभएपछि हिजो मात्रै पेरिस लगिएको अधिकारीहरूले जनाएका छन् ।
‘हिजो राति मात्रै उहाँलाई फ्रान्स ल्याइएको हो,’ उनका एक पारिवारिक सदस्यले शुक्रबार एएफपीसँग भने ।
अर्को एक स्रोतले भन्यो, ‘उपचारका लागि पेरिसतर्फ लैजाँदै गरेका बेला एम्बुलेन्समै बिहीबार राति उहाँको निधन भएको हुनसक्छ ।’
उनले सन् २०१२ देखि गत नोभेम्बरसम्म माली र सहेलका लागि अफ्रिकन युनियनको विषेश प्रतिनिधिका रूपमा सेवा गर्दै आएका थिए ।
तर, सन् १९९३ मा भएको आफ्ना उत्तराधिकारीको हत्या घटनामा संलग्न भएको आरोपसहित आजीवन काराबासको फैसला भएपछि उनले राजीनामा दिएका थिए ।
तर, उनले भने त्यस फैसलालाई राजनीतिक पूर्वाग्रहका आधारमा आएको फैसलाको संज्ञा दिँदै आएका थिए । आफूले नैतिकताका आधारमा विषेश प्रतिनिधिको जिम्मेवारीबाट राजीनामा दिएको पनि उनले उल्लेख गरेका थिए ।