काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री रामबहादुर थापा निवास पुल्चोक पुगेका छन् ।
नेकपा कार्यकारी अध्यक्ष प्रचण्डलाई खुमलटारमा भेटेलगत्तै ओलीले गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य थापालाई भेट्न पुल्चोक पुगेका हुन् । प्रचण्डसँग उपाध्यक्ष वामदेव गौतमको उपस्थितिमा छलफल भए पनि सार्थक नतिजा ननिस्केपछि प्रधानमन्त्री ओली गृहमन्त्री बादल निवास पुगेका हुन् ।
उनीहरूबीच अहिले छलफल भइरहेको छ । तर, के विषयमा छलफल भइरहेको छ भन्ने खुलाइएको छैन ।
प्रचण्डसँग छलफलका लागि खुमलटार पुगेका ओली वामदेवको उपस्थितिमा केही समय छलफलमा बसेर बाहिर निस्केका थिए । ओली निस्किएको केहीबेरपछि वामदेव गौतम पनि निस्किएका छन् ।
भेटमा पार्टी विवाद, संवैधानिक परिषद्सम्बन्धि अध्यादेशलगायतका बारेका कुराकानी भएको बताइएको छ । खुमलटार श्रोतका अनुसार, आजको छलफलमा नयाँ केही सहमति हुन सकेन । ‘हिजो अस्तिकै निरन्तरता मात्र हो’ श्रोतले भन्यो, ‘ओलीसँग ठोस कुनै कुरा भएन ।’
ओली निस्किएसँगै खुमलटारमा माधव नेपालले प्रवेश गरेका छन् । ओली बाहिरिएपछि अहिले प्रचण्ड, माधव नेपालबीच छलफल चलिरहेको छ ।