अटो–रिक्सा दुर्घटनामा दुईको मृत्यु, चार घाइते

तम्घासः गुल्मीमा अटो–रिक्सा दुर्घटना हुँदा दुईको जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

गुल्मीदरवार गाउँपालिका गैडाकोटबाट गएराति करिब नौ बजेतिर तम्घासतर्फ आउँदै गरेको लु १ ह २७४३ नम्बरको अटो भगारीमा दुर्घटना हुँदा गम्भीर घाइते भएका रेसुंगा नगरपालिका वडा नं १२ का ३० बर्षका चालक तेजबहादुर रानाको गुल्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरी बल गुल्म गुल्मीका प्रहरी नायब उपरीक्षक अशोककुमार लम्सालले जानकारी दिए । अर्का घाइते रेसंङगा २ का १८ बर्षका सुरज परियारको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा शनिबार विहान करिब ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

याे पनि पढ्नुस  बाँकेमा थप १ कोरोना सङ्क्रमितको मृत्यु

यस्तै अटो–रिक्सामा सवार रेसंगा नगरपालिका १२ का २७ वर्षका रमेश खत्री, रेसुंगा नगरपालिका २ का १६ वर्षका रोशन परियार, १७ वर्षका सुनिल बिक घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका सुनिलको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । अन्य दुई जनाको गुल्मी अस्पतालमा उपचार भइरहेकोे छ । अटो–रिक्सा सडकदेखि करिब दुई सय मिटर तल खसेको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्