काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूसँग आकस्मिक भेट गरेका छन्।
नेकपा कार्यकारी अध्यक्ष प्रचण्डलाई खुमलटारमा शनिबार बिहान भेटेलगत्तै ओली गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य थापालाई भेट्न मन्त्री क्वार्टर पुल्चोक पुगेका थिए ।
सो क्रममा ओलीले गृहमन्त्री रामबहादुर थापा, कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फे, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई मन्त्री निवासमा गएर भेटेका हुन् ।
पार्टीभित्र दुईलाइन संघर्ष चर्किएको बेला ओलीको खुमलटार भ्रमण निकै अर्थपूर्ण देखिन्छ । प्रधानमन्त्री भएपछि ओली खुमलटार गएको यो पहिलोपटक हो । त्यसपछि मन्त्रीसँग आकस्मिक भेट किन गरे भन्ने खुलेको छैन । तर, यसलाई पनि नेपाली राजनीतिमा निकै अर्थपूर्ण हेरिएको छ ।
शुक्रबारका दिन प्रचण्ड–नेपालले कार्यकर्तासँग छलफल गरेपछि ओली थप दबाबमा परेका थिए । सो क्रममा प्रचण्डले अध्यादेश फिर्ता नगरे ओलीविरुद्व थप कडा कदम थाल्ने चेतावनी दिएका थिए । शुक्रबार साँझ नै ओली र प्रचण्डबीच बालुवाटारमा समेत भेट भएको थियो ।
भदौ २६ को सहमतिविपरित ओलीले एकलौटीरुपमा निर्णय गरेपछि पार्टीभित्र संकट गहिरिएको थियो । त्यसपछि सचिवालयका ५ जना सदस्यले तत्काल पार्टी बैठक राख्न माग राखेपनि ओलीले नमानेपछि लिखित निवेदन दिएका थिए । तर ओलीले बैठक राख्नुको साटो पत्रमार्फत लिखित निवेदनको जवाफ दिएपछि प्रचण्डले पार्टी र सरकारको समिक्षासहित राजनीतिक प्रस्ताव बैठकमा पेश गरेका थिए । प्रचण्डको प्रस्ताव फिर्ता लिनुपर्ने माग राख्दै ओलीले समेत अर्को प्रस्ताव पेश गरेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको थियो ।