आज १ बजे नेकपा केन्द्रीय समिति बैठक, ओलीलाई कार्वाहीको औपचारिक निर्णय हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ ।

यसअघि सम्पन्न स्थायी कमिटिको निर्णय अनुसार, आज दिउँसो १ बजे केन्द्रीय कमिटीको बैठक बबरमहलमा बस्न लागेको हो ।

बैठकमा उपस्थित हुन सबै केन्द्रीय सदस्यहरुलाई जानकारी गराइएको छ ।

पार्टीभित्र चरम विवाद देखिएको र पार्टी अध्यक्ष केपी ओलीलाई अनुशासनको कार्वाही गर्ने स्थायी कमिटिको निर्णय भएको अवस्थामा आज बस्ने केन्द्रीय कमिटी बैठकले पछिल्लो विकसित घटनाक्रमका बारेमा छलफल गर्दै स्थायी कमिटिको निर्णयलाई औपचारिक स्वरुप दिने बताइन्छ ।

नेकपाका एक स्थायी समिति सदस्यका अनुसार, आजको बैठकमा स्थायी कमिटीको बैठकले गरेमो अनुशासनको कार्वाहीलाई निर्णायार्थ प्रस्तुत गरिनेछ । सोही बमोजिम अध्यक्ष केपी ओलीलाई पार्टी र संविधानविरोधी गतिविधि गरेको भन्दै कार्वाहीको निर्णय गरिने उनले बताए ।

केन्द्रीय समितिको बैठकमा उपस्थित हुन अधिकांश सदस्यहरु राजधानी आइसकेका छन् ।

यसैबीच केपी ओली पक्षले समेत आज बिहान ९ बजे केन्द्रीय समितिको बैठक डाकेका छन् । यद्यपी केपी ओलीसँग केन्द्रीय समितिको बहुमत संख्या भने छैन ।

बहुमत संख्या नभएपनि केही नयाँ सदस्यहरु समेत थपेर ओलीले बैठक बसाल्न लागेको बताइन्छ । निर्वाचन आयोगमा भने यसअघिकै केन्द्रीय समिति सदस्यहरुको नामावली भएकोले सोही नामावलीका आधारमा बहुमत र अल्पमत केन्द्रीय सदस्यहरुको टुंगो लाग्ने देखिन्छ ।

दल विभाजन भएको अवस्थामा पार्टीको निर्वाचन चिन्ह र आधिकारिक दलको मान्यता प्राप्त गर्न बहुमत केन्द्रीय सदस्य हुनैपर्दछ ।

यो आधारमा हेर्दा १ बजे बस्ने नेकपाको आधिकारिक बैठकलाई नै निर्वाचन आयोगले मान्यता दिने देखिन्छ ।

आज एक बजेको बैठकमा अध्यक्ष प्रचण्डले पार्टी एकताको प्रयास र केपी ओली पक्षबाट पार्टी विभाजनका लागि गरिएको सन्दर्भहरुको चर्चा गर्ने र त्यसपछि निर्णायार्थ स्थायी कमिटिको बैठकको निर्णय प्रस्तुत गरिनेछ । बैठकको कार्यसूचि केही समयपछि सार्वजनिक गरिने सम्भावना छ ।

कमेन्ट गर्नुहोस्