ओली पक्षले बनाएको केन्द्रीय सदस्य पद अस्वीकार गर्ने बढ्दै, सांसददेखि मन्त्रीसम्म विरोधमा !

काठमाडौंः संसद् विघटनपछि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट केन्द्रीय सदस्यको भेला सरकारी निवास बालुवाटारमा बोलाए ।

सो भेलाका कति केन्द्रीय सदस्य सहभागी थिए भन्ने ओली पक्षले अहिलेसम्म खुलाएको छैन । दिउँसो बसेको नेकपा केन्द्रीय समिति बैठकमा भने ३१५ जना सदस्य सहभागी भएको अध्यक्ष प्रचण्ड–नेपाल समूहले जनाएको छ ।

हाल नेकपामा केन्द्रीय सदस्य संख्या ४४७ छ । तर, आफू अल्पमतमा परेपछि ओलीले हाल नेकपामा कायम रहेको केन्द्रीय सदस्यको संख्या बढी ५५६ जना सदस्य थप गर्ने निर्णय गरे । १९६ जना थप गर्ने भनिएको छ । यसरी ओली पक्षले केन्द्रीय समिति सदस्य संख्या १ हजार १९९ बनाउने निर्णय गरेको छ ।

तर, ओलीले एकलौटी रुपमा केन्द्रीय समिति विस्तार गरेको, आफूलाई थाहै नदिएर केन्द्रीय समिति सदस्य बनाएकोलगायतका कारण देखाउँदै कतियपय पद अस्वीकार गर्न लागेका छन् । त्यसमा पत्रकार, सांसददेखि मन्त्रीसम्म छन् ।

याे पनि पढ्नुस  कोरोना भाइरसबाट सतर्कता अपनाउन प्रधानमन्त्री ओलीले दिए निर्देशन

त्यसमा एकजना केपी ओली पक्षकै मन्त्री पनि छन् । प्रदेश १ को सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर केन्द्रीय सदस्य पद अस्वीकार गरेकी छन् । उनले विश्वास र भरोसाको साथ अमुल्य मत दिएको पार्टी विभाजन हुँदा जनता राइरहेको भन्दै पद अस्वीकार गरेको बताएकी छन् ।

उनले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेकी छन्, ‘विश्वास र भरोसाको साथ अमुल्य मत दिएको पार्टी बिभाजन हुँदा जनता रोइरहेको अवस्थामा प्राप्त केन्द्रीय कमिटीको सदस्यको जिम्मेवारीलाई मैले स्वीकार गर्न सकिन ।’

त्यस्तै, झापाका प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीले पनि केन्द्रीय सदस्यको पद अस्वीकार गरेका छन् । उनले भनेका छन्, ‘मलाई कसैले राखौं कि नराखौं भनेर एक शब्द सोधेको छैन, एघार सयको भीडमा, विभाजित र ध्वस्त बनाइएको कम्युनिस्ट पार्टीमा मलाई राख्नुको अर्थ बुझ्दिन । तर मलाई विभाजित कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य मन्जुर छैन ।’

याे पनि पढ्नुस  संसद् विघटनविरुद्ध बृहत नागरिक आन्दोलनको प्रदर्शन

बागलुङबाट प्रतिनिधित्व गर्ने गण्डकी प्रदेश सदस्य श्री प्रसाद शर्माले पनि ओलीले दिएको पद लिन मानेनन् । शर्माले आफ्नो सहमति नभएको बताए । ‘मैले सहमति दिएको छैन’, उनले भने, ‘मेरो स्वीकृति पनि छैन। म त्यो गुटमा पनि लाग्दिनँ ।’

यस्तै, प्रदेश २ का प्रदेश कमिटी सदस्य कमलेश झाले पनि आफूलाई सदस्य बनाइएकोमा आपत्ति जनाउँदै पद अस्वीकार गरेका छन् । जिफन्टको प्रदेश कमिटी अध्यक्षसमेत रहेको झाले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त दुरासययुक्त निर्णय र प्रचारको उनले खण्डन गरेका छन् ।

प्रदेश २ का नेकपा प्रदेश कमिटी सदस्य तथा बाराका सचिव सुन्दर विकले पनि सदस्य पद अस्वीकार गरेका छन् । उनले ओली पक्षले सदस्य बनाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

दयपुरको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले पनि ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गरेका छन् । ‘मलाई नसोधी केन्द्रीय समितिमा नाम राखेको भन्दै सामाजिक संजालहरुमा देखिरहेको छु’, उनले भने, ‘त्यसलाई मैले अस्वीकार गरेको छु ।’

याे पनि पढ्नुस  चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सफल हुन्छः प्रधानमन्त्री ओली

ओली पक्षले गठन गरेको १११९ सदस्यीय महाधिवेशन आयोजक समितिको सदस्यमा राखिएकोमा गुल्मीका गगन बिष्टले पनि विरोध जनाउँदै पदमा बस्न अस्वीकार गरेका छन् ।

नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारीका पूर्वअध्यक्ष समेत रहेका बिष्टले भनेका छन्, ‘दुर्भाग्यपूर्ण अवस्थामा बधाई खाने म योग्य पात्र होइन ।’ बिष्टका दाजु नेकपा स्थायी समिति सदस्य गोकर्ण बिष्ट प्रचण्ड–नेपालसमूहमा छन् ।

यता, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने मंगलबार बिहान बसेको ओली पक्षको भेलालाई गुटको भेलाको संज्ञा दिँदै त्यो अवैधानिक हुने बताएका छन् । ओली पक्षले आफ्नो बहुमत पुर्याउन एकलौटी र अवैधानिक रुपमा केन्द्रीय सदस्य थप गरेको प्रचण्ड–नेपाल पक्षको आरोप छ ।

कमेन्ट गर्नुहोस्