काठमाडौं : अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल)अन्तर्गत गत मेलबर्न स्टार्सविरुद्ध सिड्नी सिक्सर्स १ विकेटले विजयी भएको छ । मेलबर्नले दिएको १ सय ९४ रनको लक्ष्य सिड्नीले १९.५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि कप्तान डानियल ह्युजले उत्कृष्ट ब्याटिङ गरे । उनले ५१ बलमा ७ छक्का र ६ चौकासहित ९६ रन बनाए ।
त्यस्तै, जोश फिलिपीले २२, कार्लोश ब्राथवेटले २१, जेशन होल्डरले १८, डानियल क्रिस्टियनले १४ रनको योगदान दिए । मेलबर्नका बलरले १४ रन एक्स्ट्रा दिन पुगे ।
बलिङमा लायम ह्याचरले ३, एडम जम्पा, नाथनकल्टर नाइलले २/२, बिली स्टानलेक र ग्लेन म्याक्सेवलले एक/एक विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको मेलबर्नले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रन बनायो ।
उसका लागि निकोलश पूरन र कप्तान ग्लेन म्याक्सेवलले शानदार ब्याटिङ गरे । पूरनले २६ बलमा ८ छक्का र २ चौकासहित ६५ रन बनाए ।
बीबीएलमा पूरनको यो दोस्रो म्याच हो । पहिलो म्याचमा वर्षाका कारण ब्याटिङ गर्न नपाए पनि उनले आज उत्कृष्ट ब्याटिङ गरे ।
त्यस्तै, कप्तान म्याक्सेवलले ४७ बलमा पाँच चौका र पाँच छक्काको मद्दतमा ७१ रनको योगदान दिए । कप्तान म्याक्सवेल र पुरनबीच पाचौं विकेटका लागि १२५ रनको शतकीय साझेदारी बन्यो ।
स्टार्सको लागि यो इतिहासमै चौथौ ठूलो साझेदारी हो । २०२० मा मार्कस स्टोइनिस र हिल्टन कार्टराइटले स्टार्सका लागि २०७ रनको सर्वाधिक साझेदारी गरेका थिए ।
साथै, हिल्टन कार्टराइटले १४, आन्द्रे फ्लेचरले ४ र नाथनकल्टर नाइलले १ रन बनाए । ब्लिङमा स्टिभओ कीफले २, जेशन होल्डर, बेन ड्यारह्युज र गुरिन्दर सिन्धुले एक/एक विकेट लिए ।
आजको जितसँगै सिड्नी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले चार म्याचमा तीनमा जित र एक खेलमा मात्र हारको सामना गरेको छ । र, सिड्नीले तालिकामा १२ अंक जोडिसकेको छ । सिड्नी गत सिजनको विजेता टिम पनि हो ।
त्यस्तै, गत संस्करण उपविजेता मेबलर्नको जारी प्रतियोगितामा यो पहिलो हार हो । मेलबर्न ११ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।