नेकपा कञ्चनपुर पार्टी कार्यालय प्रहरीको नियन्त्रणमा, दुबै पक्षबीच झडप

महेन्द्रनगर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्ला पार्टी कार्यालयलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला पार्टी कार्यालय रहेको मदन–आश्रित स्मृति भवनमा ओली पक्षले ताला लगाउन खोजेपछि झडप भएको थियो ।

नेकपा कञ्चनपुरका जिल्ला सचिव तारालामा तामाङले हिजो सूचना जारी गर्दै आज साढे १२ बजे बिस्तारित बैठकका लागि सबैमा आव्हान गरेपछि विवाद सिर्जना भएको थियो ।

सचिव लामा प्रचण्ड–माधव पक्षमा छन् । ओली पक्षले भने पार्टी कार्यालयको भेला बिथोल्ने उद्देश्यले बैठकको समय अघि नै तालाबन्दी गरेका थिए ।

संख्यात्मक हिसाबले ओली पक्ष जिल्लामा कमजोर छ ।

ओली पक्षले तालाबन्दी गरेपछि अर्को पक्षले ताला तोडन खोज्दा झडप भएको थियो ।

पार्टी कार्यालय परिसरको अवस्था तनावग्रस्त भएपछि स्थानीय प्रशासनले जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाको नेतृत्वमा प्रहरी परिचालन गरिएको जनाएको छ।

नेकपा कञ्चनपुरका अध्यक्ष बीर बहादुर थापा भने अहिलेसम्म कुनै पक्षमा खुलेका छैनन् । ओली पक्षले भने उनको नाम केन्द्रीय सदस्यमा सिफारिस गरेको दावी गरेका छन् ।

विवादकै बीच लामा पक्षले भने आजको बिस्तारित भेला गरेरै छाडने बताएका छन् । राजनीतिकरुपमा प्रतिबाद गर्न नसकेपछि गुण्डागर्दीको शैलीमा ओली पक्षधर उत्रिएको लामा पक्षको आरोप छ । ओली पक्षले भने निर्वाचन आयोगमा पार्टीको आधिकारिताको विवाद पुगेको बेला त्यहाँबाट निर्णय नआउँदै पार्टी कार्यालय प्रयोग गर्न नपाइने बताएका छन् ।

 

कमेन्ट गर्नुहोस्