काठमाडौंः चिनियाँ कम्युनिष्ट पार्टीबाट नेपाल भ्रमणमा आएको टोलीले नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपाललाई भेटेको छ ।
बानेश्वरको एभरेष्ट होटलमा नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोलीबीच भेटवार्ता भइरहेको हो ।
यसअघि सोमबार बिहान उक्त टोलीले नेकपा अध्यक्ष प्रचण्डलाई खुमलटारमा भेटेको थियो ।
नेकपामा विभाजनको स्पष्ट रेखा कोरिएको बेला आएको चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोलीले आइतबार साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटिसकेको छ ।
चीनबाट चिनियाँ कम्युनिस्ट पार्टी, केन्द्रिय कमिटी, अन्तर्राष्ट्रिय विभाग उपमन्त्री येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यानलगायतको चार सदस्यीय टोली आइतबार काठमाडौं आएको थियो ।
चिनियाँ टोलीले चार दिनसम्म नेकपाका दुबै पक्षका नेताहरुसँग छलफल गर्ने र नेपालको राजनीतिक घटनाक्रम बुझ्नुका साथै राष्ट्रपति सी चिनफिङको सन्देश पनि प्रवाह गर्ने छन् ।
नेकपाका एक नेताका अनुसार नेपालमा रहेकी चिनियाँ राजदूत होउ यान्छीले पनि पहिलेदेखि नै नेकपामा विवाद आएपछि पार्टी फुट्न नहुने र मिलेर जान आग्रह गरिरहेकी थिइन् । होउले नेकपामा पटक–पटक विवाद हुँदा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि नेकपाका नेताहरुको निवासमा ‘घरदैलो’ कार्यक्रम गर्दै मिलेर जान आग्रह गरिरहेकी छन् । उनले यही बीचमा नेकपाका शीर्ष नेताका साथै राष्ट्रपति भणडारीलाइ भेटेकी थिइन ।
नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे हालसम्म नबोलेको चीनले राजदूत होउलाई नेकपाका नेताहरुलाई भेट्न पठाएर अझै मिलेर जानको लागि आग्रह गर्दै आइरहेकी छन् ।