७ दिनपछि फेला परिन आमा पोइल गएपछि हराएकी ३ वर्षीय बालिका

यही पुस ६ गतेदेखि हराइरहेकी तनहुँकी तीन वर्षीया बालिका सात दिनपछि सोमबार फेला परेकी छन्। बुबा साउदी अरबमा कार्यरत रहेको अवस्थामा आमा सोनी थापा अर्कै पुरुषसँग गएपछि हराइरहेकी ती बालिका प्रहरीको सक्रियतमा फेला परेकी हुन्।

जिल्लाको व्यास नगरपालिका–१ भादगाउँ निवासी सोनी श्रीमान विदेश भएको मौका छोपी अर्का पुरुषसँग गएपछि तीन वर्षीया बालिका कीर्तिका बेखबर बन्दै आएकी थिइन्। मङ्सिर २८ गतेदेखि ती महिला हराएपछि देवर जीवन थापाले भाउजू हराएकाले खोजी गरी पाउँ भनि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए।

ती महिला हराएको आठ दिनपछि पुनः तीन वर्षीया छोरी एकाएक हराएपछि घरपरिवारमा खैलाबैला भएपछि खोजीको लागि प्रहरी कहाँ पुगेको देवर जीवनले बताए। ‘श्रीमान् विदेशमा श्रीमती परपुरुषसँग गएपछि बालिका बेखबर’ भन्ने शीर्षकमा राससले गत बिहीबार समाचार प्रकाशित गरेपछि प्रहरीले खोजी कार्यलाई अझ तीव्रता दिँदै आएको थियो।

ती महिला परपुरुषसँग गएको भन्ने जानकारी पाए पनि बालिकाको अवस्था थाहा पाउन नसकिएकाले बालिकालाई कसले लग्यो भनेर खोजी कार्यलाई तीव्रता दिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए। लामो प्रयासपछि बालिका फेला पारी काका जीवनलगायतका आफन्तजनलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

File Photo: Symbolic only

कमेन्ट गर्नुहोस्