सुदूरपश्चिम सरकारका मन्त्री पठानसिंह बोहरा बर्खास्त

सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा बर्खास्त भएका छन्। मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई पदमुक्त गरेका हुन्।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बोहरालाई संवैधानिक व्यवस्थाअनुसार पदमुक्त गरिएको बताए।

प्रधानमन्त्री एवंम् नेकपाका अध्यक्ष केपी ओली समूहमा रहेका बोहरालाई पार्टी विभाजनपछि प्रचण्ड–नेपाल समूहका मुख्यमन्त्री भट्टले पदमुक्त गरेका हुन्।

डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा २०७४ सालको फागुन ५ गते भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका थिए।

बोहरा सुदूरपश्चिममा ओली समूहका एक्ला मन्त्री थिए। नेकपा प्रचण्ड–नेपाल समूहका सुदूरपश्चिम इन्चार्ज भीम रावलको दबाबपछि मुख्यमन्त्रीले उनलाई पदमुक्त गरिएको बताइन्छ।

मन्त्री बोहराले भने पदमुक्त गरिएको आधिकारिक पत्र आफूकहाँ नपुगेको बताएका छन्।

कमेन्ट गर्नुहोस्