सरकारविरुद्ध वैद्य, विप्लव, आहुती र कट्टेलको मोर्चाबन्दी, निकाले संयुक्त विज्ञप्ती

काठमाडौं । सरकारविरुद्ध चारवटा कम्युनिष्ट पार्टीले संयुक्त मोर्चा निर्माण गरेका छन् ।

संयुक्त मोर्चामा सरकारद्वारा प्रतिबन्धित नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समेत छ ।

अन्य तीनवटा पार्टी मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी रहेका छन् ।

आज संयुक्त विज्ञप्ती जारी गर्दै उनीहरुले ‘केपी ओली सरकारको निरंकुशता, फासीवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक निकासको ऐतिहासिक पहलकदमीका निम्ति हामी ४ पार्टीको बीचमा रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको’ उल्लेख गरेका छन् ।

विज्ञप्तिमा मोर्चाको अवधारणा, संरचना र आगामी कार्यक्रम चाँडै नै घोषणा गरिने उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा वैदेशिक शक्तिको आड भरोसा र इसारामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको पनि जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘दलाल तथा प्रतिक्रियावादी सत्ता, व्यवस्था र सरकारमा आएको गम्भीर संकटलाई फासीवादी तरिकाले हल गर्ने दुष्प्रयासस्वरुप तथा वैदेशिक शक्तिको आड भरोसा र इसारामा केपी सरकारले संसद् विघटन गरेको हो भन्ने हाम्रो ठम्याई रहेको छ ।’

कमेन्ट गर्नुहोस्