काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि र राष्ट्रपतिमाथि महाअभियोगको प्रस्ताव ल्याउने तयारी गरेपछि लोकतन्त्रको रक्षा गर्न आफूले बाध्य भएर पछिल्लो कदम चालेको बताएका छन् ।
संसद पुनस्र्थापना गर्न संविधानले नदिने र त्यो सपना नदेख्न ओलीले आग्रह गरे । ‘अब नयाँ सरकार बन्ने पनि विकल्प छैन, संसद् पुनस्र्थापनाको पनि विकल्प छैन’,उनले भने । नयाँ निर्वाचन भए मात्र त्यो सम्भव हुने उनले बताए । संविधानको धारा ७६ अनुसार आफूले प्रतिनिधिसभा विघटन गरेको र त्यो आफ्नो कदम असंवैधानिक नभएको उनले दाबी गरे ।
नेकपा उपत्यकामा उपलब्ध सुदूरपश्चिम प्रदेश स्तरीय बुधबार आयोजित कार्यकर्ता भेलामा प्रधानमन्त्री ओली भने, ‘लोकतान्त्रिक गणतन्त्र विचार टुङ्गो लगाएर आफूहरु अघि बढेको छौं । मुलुकको लोकतन्त्रलाई खतरामा पर्न दिइँदैन । सामाजिक न्यायसहितको लोकतन्त्र, सुशासन र आर्थिक विकासकै बाटोमा लोकतन्त्र जानुपर्छ ।’
सुदूरपश्चिमले विकासको पथ समाटिसकेको बताउँदै उनले भने, ‘त्यहाँको विकासकै लागि आफ्नो नेतृत्वको सरकारमा चारजना मन्त्री बनाएको छु । विकासको, अग्रगमनको डुङ्गा अघि बढ्यो, अब प्रचण्ड–माधव समूह पछाडि छुट्यो । केही समय डुङ्गा समाटेर मलाई अल्झाउनुभयो, अल्झाउन खोज्नुभयो तर अब हामी अगाडि बढ्यौं ।’
‘म विमारी पर्नासाथ अब मरिहाल्छ भने म मरिनँ, अहिले वैशाखसम्म मात्र आयु हो भनिरहेका छन्, यो भविष्यबाणी पनि मिल्दैन, हेर्नुहोला । एकातिर चुनाव हुँदै हुँदैन भन्नुहुन्छ, अर्कोतिर वैशाखपछि ओलीको पत्तासाफ हुन्छ भन्नुहुन्छ, कुरा कहाँ मिल्यो ?’ ओलीले टिप्पणी गरे ।