काठमाडौंः लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले लोडसेडिङको अन्त्य गरेको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको बिहीबार प्युठानमा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले लोडसेडिङको अन्त्य कुलमान घिसिङले नभई प्रधानमन्त्री ओलीले गरेको बताए ।
२५० मेगावाट विद्युत अपुग भएका बेला प्रधानमन्त्री ओलीले भारतसँग प्रसारण लाइन र विद्युत् खरिद सम्झौता गरेर लोडसेडिङ अन्त्यको आधार तयार पारेको बताए । कुलमान घिसिङले लोडसेडिङ अन्त्य गर्यो भनेर गलत प्रचार गरिएको उनले आरोप लगाए ।
‘आज मुलुकमा १८ घण्टाको लोडसेडिङ अन्त्य भएको छ, यो त्यही भारत भ्रमणका क्रममा गरिएका विद्युत खरिद सम्झौताको परिणाम हो । भारतसँग झण्डै दुई सय, अढाई सय मेगावाट बिजुली किन्ने हामीले त्यसपछि गर्यो। जसकाकारणले गर्दा १८–१८ घण्टाको लोडसेडिङ अन्त्यहुने स्थिति उत्पन्न भयो’, उनले भने, ‘त्यो भूमिकालाई अवमूल्यन गरिकन लोडसेडिङ त कुनै एक जना व्यवस्थापकको व्यवस्थापनको कारण हो भनेर एक प्रकारको मनोविज्ञान तयार गरियो । २५० मेगावाट बिजुली कम भएपछि व्यवस्थापन गरेर बिजुली दिन सकिन्छ ? हो, कुलमानजीले चुहावट नियन्त्रण गरेकै हो । विद्युतभार व्यवस्थापनमा मिहीनेत गरेकै हो । गरेका कुरालाई गरेकै हो भन्नुपर्छ । तर लोडसेडिङ अन्त्यका पछाडि भारतसँग गरिएको प्रसारण लाइन विस्तार र विद्युत खरिद सम्झौता नै मुख्य पक्ष थियो ।’