काठमाडौंः कांग्रेस सांसद जितेन्द्र देवले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई राजनीतिक दुर्घटनाको विन्दुमा पुर्याएको आरोप लगाएका छन् ।
शुक्रबारबाट सुरु भएको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद देवले देश असाध्यै जटिल अवस्थामा प्रवेश गरेको भन्दै चिन्ता प्रकट गरे ।
उनले भने, ‘देशको राजनीति कुइरोको कागजस्तो भएको छ । कालो तुँवालोभित्र उडेको काग जस्तो छ । उडेको छ तर, दिग्भ्रमित छ ।’
‘नेपाली राजनीति विशिष्ट अवस्था छ । जनताको ठूलो त्याग र बलिदान र विभिन्न खालका आन्दोलनहरुको एकीकृत उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने हो कि, समाप्त हुने हो कि भन्ने लक्षण आकाशमा मडारिहका छन् । यस्तो बेला अग्रमनका लागि लडेका शक्तिहरु चिन्तित हुनुपर्ने हो’, देवले भने ।
उनले संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिएको बताए । देवले बहुमतको प्रधानमन्त्रीलाई संविधानले संसद् विघटनको अधिकार दिएको व्यवस्था देखाउन चुनौति दिए । तर प्रधानमन्त्री ओलीले असंवैधानिक तरिकाले प्रतिनिधि सभा भंग गरेर संवैधानिक काम गरेँ भनिरहेको उनले बताए ।
उनले संविधानको मर्म र प्रावधानविपरीत प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको भन्दै फिर्ता लिन माग गरे ।