प्रम ओलीको टिप्पणीमा सभामुख सापकोटाको प्रतिवादः तथ्य पन्छ्याएर विवादमा तान्न भ्रम छरियो

काठमाडौं । सरकारविरुद्ध संसद सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावका बारेमा प्रधानमन्त्रीले गरेको टिप्पणीको सभामुखले खण्डन गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीले सभामुखले किर्ते गरेको आरोप लगाएका थिए । प्रवासका कार्यकर्तालाई सम्बोधनका क्रममा संसद विघटनको घोषणा भइसकेपछि अविश्वास प्रस्ताव दर्ता भएपनि सभामुखले बिहान साढे १० बजेको मिति राखेको ओलीले आरोप लगाएका थिए ।

सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानले एक विज्ञप्ती जारी गर्दै अविश्वास प्रस्तावका बारेमा सभामुखलाई विवादमा तान्ने प्रयासस्वरुप तथ्यहरु पन्छ्याएर टिप्पणी गरिएको बताएका छन् ।

पढ्नुस विज्ञप्ती

सम्माननीय सभामुखको सचिवालय
प्रतिनिधिसभा, संघीय संसद
प्रेस नोट
मिति २०७७ पुस ५ गते ९० जना माननीय सदस्यहरुले संघीय संसद सचिवालयमा दर्ता गर्नुभएको अविश्वासको प्रस्तावका विषयमा सम्माननीय सभामुखज्यूलाई समेत जोडी टिप्पणी गरिएको सम्बन्धमा थप स्पष्ट पार्न यो प्रेस नोट जारी गरिएको छ ।

सो दिन सम्माननीय सभामुखज्यूलाई सम्बोधन गरी सचिवालयमा दर्ताका लागि ल्याइएको अविश्वासको प्रस्तावमा सभामुखज्यूले दर्ताका लागि लिखित निर्देशन दिनु भएको हो । तत् पश्चातका प्रशासनिक प्रक्रियालाई समेत जोड्दै उहाँलाई विवादमा ल्याउनु वाञ्छनीय छैन । तथ्यहरुलाई एकातिर पन्छाएर सम्माननीय सभामुखज्यूलाई समेत विवादमा तान्ने प्रयासस्वरुप सृजना गरिएको भ्रममा नपर्न सबैमा आग्रह गर्दछु ।

अविश्वासको प्रस्ताव दर्ता समयका सम्बन्धमा संसद सचिवालयका प्रवक्ताद्वारा पुस ८ गते प्रेस विज्ञप्तीमार्फत स्पष्ट गरिसकिएको समेत यसै प्रेस नोटमार्फत स्मरण गराउन चाहन्छु ।
श्रीधर न्यौपाने
प्रेस विज्ञ,
२०७७ पुस १७

कमेन्ट गर्नुहोस्