सीता दाहाललाई उपचारका लागि मुम्बई लगियाे

काठमाडौंः नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ ।

उनलाई आज बिहान ११ बजेको उडानबाट मुम्बई लगिएको हो । सीताको उपचारका लागि अध्यक्ष प्रचण्ड रछोरी गंगा दाहाल सँगै मुम्बई गएका छन् ।

उनलाई मुम्बईस्थित न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्स्ट्च्यिूटमा भर्ना गरेर उपचार गरिने परिवारले जनाएको छ ।

सीता दाहालमा पार्किन्सन जस्तो प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पिएसपी) नामक बिमारी रहेको छ ।  पीएसपी एक दुर्लभ स्थिति हो, जसका कारण मानिसको मानसिक असन्तुलनका साथै हिँड्न, बोल्न र निल्नसमेत कठिन हुने गर्छ । मस्तिष्कको कोषिकामा क्षति हुँदा यस्तो समस्या देखिने चिकित्सकहरु बताउँछन् ।
स्वास्थ्यमा समस्या देखिएपछि गत साता उनी मेडिसिटी अस्पतालमा भर्ना भएकी थिइन ।

सीता यसअघि पनि उपचारका लागि अमेरिका, सिंगापुर र भारत गएकी थिइन् ।

कमेन्ट गर्नुहोस्