बेलायतमा पुन लकडाउनको घोषणा

काठमाडौं । बेलायतमा पुन लकडाउनको घोषणा गरीएको छ । कोरोना भाइरसको नयाँ स्वरुपका संक्रमणहरु देखा पर्न थालेपछि प्रधानमन्त्री बोरिस जोनसनले टेलिभिजन सम्बोधनमार्फत पुनः लकडाउनको घोषणा गर्नुभएको हो ।

बिबिसीका अनुसार, लकडाउन भएपछि मानिसहरुलाई अत्यावश्यक कामबाहेक बाहिर निस्किन नपाइने भएको छ ।

आगामी फेब्रअरीको मध्यसम्म यो प्रतिबन्ध कायम रहने अनुमान छ ।

प्रधानमन्त्री जोन्सनले देशवासीका नाममा सम्बोधन गर्दै संक्रमणका घटना बढिरहेकोले रोकथामका प्रयास समेत घनिभूत गर्नुपर्ने आवश्यकता परेको बताएका छन् ।

तर आवश्यक सामान, उपचार र घरेलु हिंसा आदिबाट जोगिन या यस्तै कुनै अत्यावश्यक काम परेमा भने बाहिर निस्किन सकिने उनले बताए ।

उनले कोरोना संकटलाई अलर्ट ५ को स्तर मान्न समेत चीफ मेडिकल अफिसर हरुलाई सुझाव दिएका छन् ।

यसअघि गत नोभेम्बर ५ देखि डिसेम्बर २ सम्म लागू भएको लकडाउन खुलाइएसँगै बेलायतमा संक्रमणको आधारमा क्षेत्रगत प्रतिवन्धहरु लगाइएको थियो । बेलायतमा देशव्यापी लकडाउन हुन लागेको यो तेस्रो पटक हो । पहिलो चरणमा गत वर्षको मार्च २३ बाट सुरु लकडाउन तीन महिनाभन्दा लामो समय कायम राखिएको थियो ।

दोस्रो चरणमा नोभेम्बर ५ देखि ४ हप्ते लकडाउन गरिएको थियो । बेलायतमा कोरोना भाइरसको नयाँ स्वरुप तीव्र रुपमा फैलिइरहँदा संक्रमितको संख्या लगातार बढिरहेको छ । बेलायतमा पछिल्लो समय थप ४०७ जनाले कोरोनाका कारण ज्यान गुमाएसँगै मृतक कुल संख्या ७५ हजार ४ सय ३१ पुगेको छ ।

सरकारले कोभिड १९ खोप वितरण र परीक्षण पनि रफ्तारमा अगाडि बढाएको छ । हिजोदेखि अक्सफोर्ड एस्ट्राजेनेका खोप आममानिसमा दिन सुरु भएको छ । उता, भाइरस परीक्षणका लागि सरकारले ५ हजार भन्दा बढी सैनिक परिचालन समेत गरेको छ । विशेष गरी स्कुलमा कोरोना भाइरस परीक्षणमा सेना खटाइएको हो । एजेन्सी

कमेन्ट गर्नुहोस्