काठमाडौंः न्यायाधीश हरिकृष्ण कार्कीले संसद् विघटनबारे सुनुवाइ गरिरहको संवैधानिक बेञ्चमा नबस्ने घोषणा गरेका छन् ।
आजको सुनुवाइमा वरिष्ठ अधिवक्ता शम्भु थापाले आफूले न्यायाधीश कार्कीको इमानमा प्रश्न नगरेको भए पनि उनी यसअघि ओली प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता भइसकेकाले यो इजलासमा उनी हुँदा प्रश्न उठेको बताएका थिए ।
त्यस्तै, वरिष्ठ अधिवक्ताहरु थापासँगै मुक्ति प्रधान, कृष्णप्रसाद भण्डारीलगायतले इजलासमा कार्की रहेकोमा प्रश्न उठाएका थिए । त्यसपछि उनले बेञ्चमा नबस्ने घोषणा गरेका हुन् ।
केहीबेर सो विषयमा बहसपछि न्यायाधीश कार्कीले भने, ‘इजलासमा बहसका क्रममा प्रश्न उठ्यो । म हेर्दिनँ ।’
बुधबार गठित संवैधानिक इजलासमा प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबराका साथै न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, तेज बहादुर केसी सदस्य थिए । कानुन व्यवसायीहरुले यसअघिका संसद् विघटनका निवेदन सुनुवाइमा वरिष्ठताक्रम नमिचिएको र बृहत् पूर्ण इजलास गठन भएकाले त्यसकै निरन्तरता हुनुपर्ने आवाज उठाएका थिए ।
यो मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा हुने र अर्को न्यायाधीश थपिने सर्वोच्च अदालतले जनाएको छ । अर्को सुनुवाइ आगामी बुधबार हुने र त्यसका लागि अर्को संवैधानिक इजलास गठन हुने भएको छ ।