विज्ञले भने : वायु प्रदूषण कम गर्न स्पष्ट नीति नल्याए काठमाडौंको स्थिति भयावह हुन्छ

काठमाडौंः कोरोना भाइरसको महामारीभन्दा वायु प्रदूषण काठमाडौं उपत्यकाका लागि खतरनाक रहेको छ । गणेशमानसिंह अध्ययन प्रतिष्ठानले आज यहाँ आयोजना गरेको छलफलमा सहभागी विज्ञले समयमै सरकारले वायु प्रदूषण कम गर्न स्पष्ट नीति र योजना नल्याए काठमाडौं उपत्यकाको स्थिति भयावह हुने बताए ।

कार्यक्रममा सहभागी श्वासप्रश्वास्सम्बन्धी रोगका विज्ञ डा. अषेश ढुङ्गानाले उपत्यकामा बर्सेनी वायु प्रदूषण बढ्दै गएको बताए । वायु प्रदूषणका कारण मधुमेह, उच्च रक्तचाप, क्यान्सर, मुटुका रोगीको संख्या बढ्दै गएको उनले उल्लेख गरे ।

काठमाडौंमा दिनहुँ सवारीसाधन थपिँदै गएका, कलकारखाना सञ्चालन हुनेक्रम बढ्दै गएको, विकास निर्माणले गति लिँदा वायु प्रदूषण बढ्दै गएको छ । समयमै वायु प्रदूषण कम गर्न सरकारले कदम चाल्नुपर्नेमा डा। ढुङ्गानाले जोड दिए । वायु प्रदूषण कम गर्न तथा हुन नदिन नेपालले समयसमयमा विभिन्न सन्धि सम्झौतामा हस्ताक्षर गर्दै आएको स्मरण गर्दै उनले कार्यान्वयनको पाटो निकै कमजोर रहेको उल्लेख गरे ।

धूमपानका कारण मात्र फोक्सोको रोग लाग्ने जानकारी मात्र राख्ने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले पछिल्लो समय वायु प्रदूषणका कारण बढीजसो फोक्सोको रोग लाग्ने गरेको बताए । वायु प्रदूषणकै कारण मुटुका रोगीको संख्या बढ्दै गएको र यसकै कारण पछिल्लो समय हृदयघातबाट ज्यान गुमाउनेको संख्यामा वृद्धि भइरहेको डा। ढुङ्गानाले जानकारी दिए ।

नेपालमा बर्सेनी वायु प्रदूषणका कारण ४० हजार व्यक्तिले ज्यान गुमाउने गरेको उनले बताए । शहरलाई हरियाली बनाउनुपर्ने, फोहर बिसर्जन उचित ढंगले गर्नुपर्ने, दाउराको प्रयोग घटाउनुपर्ने, इन्धनबाट चल्ने सवारीसाधनको सङ्ख्या घटाउनुपर्नेलगायत कुरामा उनले जोड दिए ।

वातावरण विज्ञ भूषण तुलाधरले डेढ दशकअघि भक्तपुर र ललितपुरका बासिन्दाले इँटाभट्टा बन्द गर्नुपर्ने मागसहित गरेको अन्दोलन जस्तै फेरी वायु प्रदूषण कम गर्न सचेत हुनुपर्ने बताए । सरकार र नागरिक मिलेर अभियान सञ्चालन गर्नसके वायु प्रदूषण घट्दै जाने उनको भनाइ थियो । इँटाभट्टा बन्द भएपछि भक्तपुरमा वायु प्रदूषणमा डेढ दशकअघि २४ प्रतिशतले सुधार आएको तुलाधरणले स्मरण गरे ।

वायु प्रदूषण कम गर्नका लागि काठमाडौं उपत्यकाका जनता जाग्नुपर्ने बेला आएको तुलाधरले उल्लेख गरे । तुवाँलो लाग्दा वायु प्रदूषण बढी तथा घाम लाग्दा कम हुने भ्रममा अधिकांश रहेको उल्लेख गर्दै उनले उपत्यकामा जुनसुकै बेला पनि वायु प्रदूषण बढ्दै गएको उनको भनाइ थियो । उपत्यकामा २० बर्से सवारी साधनको विकल्प खोज्न उनले सरकारसँग माग गरे ।

सबैभन्दा बढी यातायातका साधनका कारण वायु प्रदुषण बढेको तुलाधरको भनाइ थियो । सडकमा पैदल हिँड्ने सबैभन्दा बढी जोखिममा रहेको उल्लेख गर्दै उनले न्यून आम्दानी भएका, वृद्धवृद्धा र बालबालिकाको ज्यान वायु प्रदूषणका कारण खतरामा परेको बताए । पूर्वप्रशासक डा. सुधा शर्माले प्रदूषण कम गर्न सन्धिमा मात्र ध्यान दिएको तर त्यसको कार्यान्वयनतर्फ चासो नदिँदा वायु प्रदूषण अब सबैभन्दा बढी खतरनाक बन्दै गएकामा चिन्ता व्यक्त गरिन् ।

कमेन्ट गर्नुहोस्