काठमाडौंः राष्ट्रिय सभाका सांसद तथा नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीका कारण पार्टी विभाजनको संघारमा पुगेको आरोप लगाएका छन् ।
बिहीबार राष्ट्रियसभा बैठकलाई पहिलोपटक सम्बोधन गर्दै गौतमले आफूले धेरै पटक शैली सुधार गर्न ओलीलाई सुझाव दिएको तर त्यो नमान्दा अहिलेको स्थिति आएको बताए ।
संसद् विघटनको विषय अदालतमा पुगेकोले आफू चुप लागेको बसेको बताएका छन् । उनले भने, ‘संसद् विघटनबारे सर्वोच्चमा रिट परेको छ । त्यसैले यस विषयमा अदालतले फैसला गर्ला । यसलाई असंवैधानिक हो भन्न मिल्दैन । त्यसैले चुप लागेर बसेको छु ।’
उनले नेकपा दुई समूहमा विभाजित भए पनि आफू कुनै गुटमा नरहेको बताए । उनले पार्टीमा अन्तरसंघर्ष देखिन्दे भन्दै त्यहीँबाट समाधान खोज्नुपर्नेमा जोड दिए । उनले पार्टी एकताको पक्षमा लागिरहेको जानकारी दिए ।
गौतमले अविश्वास प्रस्ताव र प्रतिनिधिसभा विघटन दुबैबारे आफूलाई थाहा नदिएको बताए ।