काठमाडौंः राष्ट्रिय सभाका सांसद तथा नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टीका नेताहरुले आफूविरुद्ध अविश्वासको प्रस्ताव लगिँदैछ भन्ने थाहा पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने तर्क गरेका छन् ।
अल्पमतमा परेपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताउँदै उनले अगाडि थपे, ‘उहाँले मलाई अविश्वासले बर्खास्त गर्नुभयो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ भन्नुभएको थियो । अल्पमतमा परे प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्दछ । त्यसो भएको भए पार्टी जोगिन्थ्यो । म भए अविश्वास प्रस्ताव दर्ता गर्नु अघि नै राजीनामा दिन्थें । मैले मेहेनत गरेर निर्माण गरेको पार्टी जोगिन्थ्यो ।’
बिहीबार राष्ट्रियसभा बैठकलाई पहिलोपटक सम्बोधन गर्दै प्रधानमन्त्री ओलीको कार्यशैलीका कारण पार्टी विभाजनको संघारमा पुगेको उनले आरोप लगाए ।
संसद् विघटनको विषय अदालतमा पुगेकोले आफू चुप लागेको बसेको बताएका छन् । उनले नेकपा दुई समूहमा विभाजित भए पनि आफू कुनै गुटमा नरहेको बताए ।