लालपुर्जा सच्याएबापत घुस लिने २ जना पक्राउ

सर्लाहीः मालपोत कार्यालय हरिवन सर्लाहीका नायब सुब्बा र लेखापढी व्यवसायी ११ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

सेवाग्राहीको लालपुर्जा सच्याएबापत ११ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा नायब सुब्बा वेदनिधि बराल र लेखापढी व्यवसायी रामसुन्दर महतोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई अनुसन्धानका लागि बर्दिवास कार्यालय पुर्‍याइएको अख्तियारले जनाएको छ । यसअघि पनि मालपोत कार्यालयबाटै घुस रकमसहित १ जना कर्मचारी पक्राउ परेका थिए ।

कमेन्ट गर्नुहोस्