असल प्रचण्ड ! खराब प्रचण्ड !

कैलाली क्षेत्र नं ३ बाट निर्वाचित नेकपाका नेता गौरीशंकर थारु पौस १० गते शुक्रबार दिउँसो माइतीघर मण्डलामा थिए । प्रचण्ड नेपाल समुहको विरोध आन्दोलनमा सहभागी थए उनी । उनलाई कसैको फोन आयो । कुरा सकिए लगत्तै उनले मोबाइ खल्तीमा राखे र पिसाव फेर्ने बहानामा भीडबाट निस्किए । वेलुका अचानक उनी मन्त्री बनेको खबर मिडियामा आयो । मन्त्री बन्नु चार दिन अघि मात्रै उनी आफ्नो गृहक्षेत्र पुगेका थिए । त्यहाँ पनि उनले स्थनीय स्तरका नेता कार्यकर्ताहरुलाई प्रधानमन्त्री ओलीको कदम विरुद्ध कडा रुपमा प्रस्तुत हुन प्रशिक्षित गरेका थिए ।

गौरीशंकर थारुले आकस्मिक रुपमा गरेको अनपेक्षित निर्णय सही या गलत के थियो, त्यो विश्लेषणको फरकै पाटो रह्यो । यहाँ महत्वपूर्ण कुरा के छ भने अति संवेदनशील समयमा अति जोखिमपूर्ण विषयमा थारुले आफ्ना बातरेमा आफै निर्णय गर्ने हिम्मत गरे । गौरीशंकर जन्मिदा मान्छे भएर जन्मेका थिएनन्, थारु भएर जन्मेका थिए । उनका बाआमा देशका जनता थिएनन्, साहुमहाजनका कमैया थिए । देशको नागरिक बन्न गौरीशंकरहरुले निकै लामो समय र परिस्थितिका थुप्रै उतारचढावहरु झेल्नुप¥यो । विहान वेलुकाको खाना खान र उठ्नबस्न समेत साहुमहाजनको अनुमति लिनुपर्ने समाजमा जन्मेहुर्केका गौरीशंकर आज देशको शासनसत्ताको महत्वपूर्ण संयन्त्रको नेतृत्व सम्हाल्नुपर्दा आफ्नो बातरेमा आफै निर्णय गर्न सक्षम बने । र महत्वपूर्ण कुरा के छ भने उनको यो आत्मविश्वास प्रचण्डका अभियानहरुको वर्षौको शिक्षण प्रशिक्षण र उत्प्रेरणाबाट मात्र तयार भएको हो । यसरी हेर्दा गौरीशंकरको जीवनमा यति विघ्न परिवर्तन र सुधार ल्याउन उनी आफुबाहेक प्रचण्डकोभन्दा बढी योगदान कस्को होला र ? आज र भोली गौरीशंकरहरु जहाँकहीं पुगुन्, तर उनका जीवनमा यति विधि सुधार ल्याउन अहम् भूमिका खेल्ने प्रचण्ड कसरी खराब हुन सक्छन् ?

०००

२०५९ सालको चीसो याममा गाऊँतिर जनयुद्धको गर्मी बढिरहेको थियो । त्यही गर्मीमा पहिलो पटक पंक्तिकारलाई क्रान्तीमा सहभागी हुने रहर जागेको हो । दुर्गम बस्तीमा जन्मे हुर्केको पन्ध्र वर्षे एक ठिटोलाई ऊ वेला देश काल परिस्थिति र दर्शन सिद्धान्तका यावत कुरा थाहा थिएनन् । यत्ति थाहा थियो कि आफु बसेको समाजमा चरम गरिवी, वेरोजगारी र भयानक असमानता छ । विकासको नियमित प्रक्रियाले मात्रै त्यसको अन्त्य हुने छैन । त्यसका लागि संघर्षको आवस्यकता छ । त्यो आवस्यकता जनयुद्धले पुरा गर्न सक्छ । यहि सोचले केही वर्ष आँसिक रुपमा त्यसका गतिविधिहरुमा सहभागी भइयो ।

स्नातक अध्ययन पुरा भएपछी पूर्णकालिन राजनीतिमा सहभागी भएर सामाजिक सुधारमा अघि बढ्ने रहर पलायो । तर करिव एक दशकको अन्तरालमा धेरै थोक परिवर्तन भैसकेको थियो । युद्धरत माओवादी खुला राजनीतिमा आएर पनि संसदको सबैभन्दा ठूलो शक्ति बनिसकेको थियो । दुखद कुरा के थियो भने नेताकार्यकर्ताहरु जनयुद्ध अवधिका जस्ता थिएनन् । उनीहरु नवसम्भ्रान्तको रुपमा विकसित हुँदै थिए । जनयुद्धका नायक प्रचण्ड नयाँ महाराजाको शैलीमा अघि बढिरहेका थिए । आफ्ना व्यक्तिगत स्वार्थ र महत्वाकांक्षाका लागि उनी जहाँ जोसँग पनि जस्तोसुकै सम्झौता गर्न उद्यत देखिन्थे । आफ्ना वरिपरि घुमीरहने, सेवाचाकरी गर्ने र कमिसनका पोका पुन्तरा चढाउने बाहेक अरुलाई उनले गन्दै गन्दैनथे । फरक मत र फरक बिचार राख्ने आफ्नै सहकर्मीहरुलाई पनि उनले पाखा लगाइरहेका थिए । उनले गाऊँ तहसम्मै आफुजस्तै कार्यकर्ता तयार पारेका थिए । उनीहरुलाई कार्यकर्ता हैन दास भन्न सुहाउँथ्यो । जसरी प्रचण्डले आफ्नो वरीपरी पहिलो तहका दासहरुको घेरा तयार गरेका थिए, त्यसरी नै उनीहरुले दोस्रो तहका आफ्ना दासहरु तयार गरेका थिए । त्यसरी नै तल्ला तल्ला तहहरुमा स्तर अनुसारका दासहरु तयार भएका थिए । दासहरुबाहेक अरुको कुनै महत्ता थिएन त्यहाँ । उनीहरु समाजका तल्लो तहका जनतासँग क्रमशः टाढा हुदै गैरहेका थिए । बरु दलाल, विचौलिया, ठेकेदार, कमिसनखोरहरुसँग नजिक हुँदै गैरहेका थिए । समग्रमा भन्नुपर्दा जनयुद्धको लक्ष, र आधारभूत मान्यताबाट उनीहरु निकै टाढा पुगिसकेका थिए । निस्वार्थ र इमान्दार भएर सामाज र जीवनस्तर सुधारका लागि राजनीतिमा लाग्नु भनेको केवल जीवन बर्वाद गर्नु मात्र थियो । राजनीतिमा स्थापित हुन उही दास र ठेकेदार शैलीमा हिंड्न सक्नुपथ्र्यो । यीनै परिदृष्यहरु देखेरे पूर्ण कालिन राजनीतिम होमिने रहर त्यसै त्यसै मुर्झाएर गयो ।

खुला राजनीतिमा आएपछि प्रचण्डले पार्टी संगठनमा स्थापित गरेका विधि, प्रबृत्ति र नेता कार्यकर्ताहरु आज पनि जस्ताका त्यस्तै छन् । त्यसैको एक उदाहरण हुन –गौरीशंकर थारु । थारुले दस करोड ठगी गरेको आरोप सहितको मुद्दा कैलाली जिल्ला अदालतमा चलिरहेको छ । हल्ला छ की यही मुद्दा व्यवस्थापन गरिदिने शर्तमा उनी मन्त्री बनाइएका हुन् ।ं यसबाट सहजै बुझ्न सकिन्छ कि थारुले आफ्नो व्यक्तिगत स्वार्थका कारण दुई घण्टा अघिसम्म अँगालेको बाटो चटक्कै विर्सेर नयाँ सम्झौता गरे । तर यो प्रबृत्ति प्रचण्डकै हो भन्न सकिन्छ । विगतमा प्रचण्डले पनि आफ्ना निहित स्वार्थ पुरा गर्न नीति, सिद्धान्त र दर्शनलाई वेवास्ता गरेर अनेक खाले सम्झौता गरेका छन् । उनका कार्यकर्ता र दासहरुले उनबाट यो प्रबृत्ति अच्छा तरिकाले सिकेका छन् ।
यहाँ गौरीशंकरलाई एक पात्रको रुपमा हैन, एक प्रबृत्तीको रुपमा प्रस्तुत गर्न खोजिएको हो । र त्यो प्रबृत्तिको निर्माण प्रचण्ड स्वयम्ले गरेका हुन् ।

०००
कुनै एक व्यक्ति सधैं सबै सन्दर्भमा असल मात्र या खराब मात्र हुन सक्तैन । हरेकको जीवनका केही असल र केही खराव पाटाहरु हुने गर्छन् । व्यक्तिका असल गुणहरुले समाजमा कति प्रभाव पा¥यो र खराव गुणहरुले कति प्रभाव पार्‍यो भन्ने कुरा बढी महत्वपूर्ण र आम सरोकारको विषय हो । कुनै व्यक्ति हरेक साँझ अत्यधिक मदिरा सेवन गर्छ र घरमा झगडा गर्छ तर समाज निर्माणका हरेक कार्यहरुमा दत्तचित्त भएर लाग्छ । अर्को कुनै व्यक्ती धुम्रपान मध्यपान केही गर्दैन हरेक साँझ पूजाआजा गरेर मात्र खाना खान्छ तर कुनै पनि सामाजिक कर्महरुमा सहभागी हुँदैन, मौका परे थिचोमिचो गरिहाल्छ । तुलना गरौं, कुन व्यक्ति असल र कुन खराब ! ……..

विगत अढाई दशकको नेपाली राजनीतिमा सर्वाधिक चर्चामा रहेका पात्र हुन – प्रचण्ड । सामाजिक रुपान्तरणको अभियान, सत्ता सञ्चालनको प्रत्यक्ष अप्रत्यक्ष जिम्मेवारी, राजनैतिक बिग्रह र व्यवस्थापन, दर्शन–सिद्धान्त–व्यवहारहरुका उतारचढाव जस्ता विषयमा पनि उनी अग्रस्थानमा नै देखिन्छन् । उनका कर्मले जनतामा कहिले अथाह आशा छाउने गरेको छ भने कहिले भयानक निराशा । देशमा पछिल्लो पटक निर्माण भएको परिस्थिति निर्माण गर्नमा उनी पनि जिम्मेवार छन् । उसो भए प्रचण्ड देशका लागि आवस्यक व्यक्ति हुन या अनावस्याक ? बौद्धिक तहमा यसको बिश्लेषण गरिनु आवस्यक छ ।
०००

कल्पना गरौं, २०५२ साल अघिको समाज कस्तो थियो ? समाजमा आधा सँख्या मात्रै जनता थिए । बाँकी आधा त दमाई, सार्की कामी, थारु, मगर, गुरुङ्ग, कमैया, कमलरी, हली, लाटा, अन्धा, लङ्गडा, आइमाई आदि आदि थिए । उनीहरुका बाँच्ने शैली कति दयनिय थिए ? समाजमा उनीहरुको स्थान कस्तो थियो ? राज्यका थोरै मात्र व्यक्तिसँग शासन सत्ताको अधिकार थियो । बाँकी तिनका रैतीहरु थिए । थोरै मात्र व्यक्तिसँग सयौं एकड जमिन थियो । बाँकी तिनका बँधुवा मजदुर र कमैया थिए । थोरै मात्र व्यक्तिका मठमन्दिरहरु थिए, बाँकीले तिनका डिलमा बसेर दमाहा बजाउने, सहनाई फुक्ने या जुठोपिठो सफाई गर्नुपथ्र्यो । थोरै मात्र व्यक्तिका हातमा गुठी प्रतिष्ठानहरु थिए । बाँकी अरुले तिनका सभासमारोहमा उभिएर जयजयकार गर्नुपथ्र्यो । कुनै एक मान्छेलाई छोएकै कारण अर्को एक मान्छे अशुद्ध हुने र सुनपानी छर्केर शुद्ध गरिन्थ्यो । बजारमा पैँसा तिरेर पनि मालसामान किन्न पाउने अधिकार थिएन । समाजको एक वर्ग सदा शीर निहुराएर हिड्थ्यो भने अर्को एक वर्ग तिनका शीरमा टेकेर हिँड्थ्यो । राज्य सञ्चालनका निकायहरुमा महिला र निम्न वर्गको उपस्थिति दयनीय थियो । देशको सुरक्षा संयन्त्रमा महिलाको उपस्थिति कल्पना भन्दा परको कुरा थियो ।

तर आज समय धेरै परिवर्तन भैसकेको छ । तराईको भैंसीपालक कृषको छोरा राष्ट्रप्रमुखको आसनमा पुगिसक्यो । यसले तमाम आदिबासी जनजाती, ,पिछडावर्गका छोराछोरीहरु पनि राष्ट्रप्रमुख बन्ने सपना देख्न सक्ने भएका छन् । गण्तन्त्रको आवाज उठाउँदा हत्या गरिएका नेता मदन भण्डारीकी पत्नी गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति बनेकी छिन । जुन स्थापित व्यवस्थाले उनलाई यो स्थानमा पुर्‍यायो, प्रचण्डले नेतृत्व गरेको संघर्षको एक उपलव्धी त्यो पनि हो । उनका अत्यन्त निकटका पात्र मानिएका केपी ओलीको निगाहमा विद्या भण्डारी राष्ट्रपति बनेको चर्चा सामाजिक सञ्जालमा हेर्न पाइन्छ । तर उनै ओली सशस्त्र जनयुद्धको मत्र हैन वयलगाढामा चढेर अमेरिका नपुगिने भन्दै गणतन्त्रको आन्दोलनको समेत खिल्ली उडाइरहेका थिए । आफ्नो कुनै चाहना नभएको र सहभागिता नभएको तर जनताको अथाह संघर्ष र बलिदानीबाट स्थपित भैसकेको गण्तन्त्रलाई सकेसम्म अझै पनि नष्ट पार्ने ओलिको भित्री मनसाय उनका गतिविधीबाट देखन्छ ।

जिम्मेवारीमा पुगिसकेपछि व्यक्तिले कस्तो इमान्दारिता र नैतिकता देखाउँछ, त्यो फरकै कुरा तर यो व्यवस्थाको उपयोग गरेर शासन सत्ताको उच्चतम स्थानमा देशको जुनसुकै नागरिक पुग्न सक्छ, या पुग्न पाउने समान हक सबैलाई छ भन्ने कुरा स्थापित भएको छ ।

कतिपय मान्छेहरु तर्क गर्छन्- गणतन्त्र माओवादी संघर्षको कारण आएको हैन, सात दलको जनआन्दोलनको कारण मात्र आएको हो । यो राजनीतिक साख जोगाउने तर्क मात्रै हो । कल्पना गरौं, प्रजातन्त्रका लौहस्तम्भ मानिएका गणेसमान र आफ्नै सहोदर दाजु समेत रहेका जननेता मानिएका विपी कोइरालालाई समेत नमानेका अहमताबादी नेता गिरिजा प्रसाद कोइराला कुन कारणले प्रचण्डसँग सहकार्य गर्न पुगे ? प्रचण्डको संघर्षको अभियानमा कुनै शक्ति नहुँदोहो त कोइराला उनीसँग सहकार्यको हात बढाउन भारतका शहरमा उनलाई खोज्दै पुग्ने थिएनन् । तत्कालिन नेपाली काँग्रेस, एमाले लगायत दलका नेताहरु माओवादी आन्दोलनको आडभरोसा विना राजासँग संघर्ष गर्ने हिम्मत गर्ने थिएनन् । राज्यशक्ति राजाको हातमा थियो भने त्यसको वैकल्पिक शक्ति तत्कालिन माओवादी सँग थियो । राजाबाट त्रसित भएका तत्कालिन सात दल माओवादी शक्तिको बर्ता आडभरोसा मानेरै ऊसँग सहकार्य गर्न पुगेका हुन । त्यो सहकार्यको सबैभन्दा सकारात्मक पक्ष के थियो भने खुल्न नसकेका र बातेल्न डराएका आम जनता समेत खुलेर सडकमा आए र व्यवस्था विरुद्ध साझा आवाज उठाए । जसले आजका परिवर्तनहरुलाई छिटो स्थापित गर्‍यो । प्रचण्डले आफ्नो संघर्षका दौरान उठाएका शासन व्यवस्था सम्बन्धी सबै मुद्दाहरु स्थापित गरेरै छोडेका छन् । बाँकी रहेको एउटै काम हो सबै सक्षम जनताका लागि देशभित्रै सुरक्षित र भरपर्दो रोजगारी स्थापना । शासन सत्ता र राज्य संयन्त्रका नेतृत्व तहका सबैजसो व्यक्तिहरु इमान्दार बनिदिनेहो भने यो सम्भव हुनेछ हैन भने यसमा एक्लो प्रचण्डले मात्र चाहेर त्यो सम्भव देखिदैन ।

पुरानो सत्ताका उच्च मध्यम वर्गिय तथा आजका नवसम्भ्रन्तहरु प्रचण्डका कारण सत्र हजार नेपालीले ज्यान गुमाउनु परेको कथन बारम्बार उच्चारण गरिरेका छन् । उनीहरुका नजरमा त्यो साँचो देखिएला, देखिने नै भयो । तर जुन व्यवस्थाका विरुद्ध प्रचण्डको नेतृत्वमा संघर्ष चल्यो त्यो व्यवस्थाका कारण मारिएकाहरुको तथ्यांक उनीहरुले राखेका छन् ? कति कमैयाहरु साहुमहाजनका पयरले कुल्चिएर मारिए ? कति कमलरीहरु बलात्कृत भएर मारिए ? कति दलितहरु कथित उपल्लो जातका व्यक्तिहरुबाट पानी छोएको र मन्दिर टेकेको निहुमा मारिए ? कति कति मगर गुरुङ्ग मजदुरहरु दलाल र ठेकेदारहरुबाट मारिए ? निम्न वर्गिय मान्छेहरु शताव्दियौं देखि शोषित, अपहेलित र अपमानित भएर बाँचे ? यसको हिसाव आजका सम्भ्रान्तहरुले राखेका छन् ? जनयुद्ध नहुन्थ्यो भने समाज भित्रै टोलछिमेक भित्रै यस्ता हत्या, बलात्कार थिचोमिचोको संख्या आजसम्म कति पुग्थ्यो होला ?

केहीले देशको मुर्दाशान्ति र विभेद सहितको सामाजिक साहिष्णुताको पनि वकालत गर्दै आएका छन् । उनीहरुको हास्यास्पद तर्क छ – ऊ वेला समाजमा सबै मिलेर बसेका थिए, प्रचण्डले सामाजिक एकता खल्बल्याए । उच्च वर्गगँग यो भन्दा भरपर्दो तर्क नै के हुन्छ र ? यथार्थ के हो भने ऊ वेला सबै मिलेर बसेका थिएनन्, एक वर्ग सामाजिक अग्राधिकार सहित शोषण दमनमा व्यस्त थियो भने अर्को वर्ग त्रसित र भयभित भएर सबै कुरा सहेर बसेको थियो । एक वर्गले अरुको थिचोमिचो गरेर निरन्तर विलासिता बाँचिरहनु अनि एक व्यक्तिले उक्त थिचोमिचो सहेर चुपचाप दोस्रो दर्जाको मान्छे भएर बाँचिरहनु भनेकै सामाजिक सद्भाव र एकता हो ? त्यस्तो खाले सद्भाव र एकताको विग्रह प्रचण्डले गराएकै हुन । जसको कारण आज देशभित्रका सबै मान्छे जनता र सबै जनता मान्छे बनेका छन् । आज देशका महिला, जनजाति, दलित, पिछडा वर्ग, लोपोन्मुख समुदाय, अपाङ्ग सबैको नीति नर्माणको तहमा उचित सहभागिता सुनिश्चित भएको छ ।

सदियौं देखिको भारतिय एकाधिकारको अन्त हुनसक्छ र अत्मनिर्णय सहितको सन्तुतिल परराष्ट्र नीति निर्माण हुन सक्छ भन्ने कुराको सन्देश प्रचण्डले पहिलो पटक प्रधानमन्त्री हुँदा दिए । जननिर्वाचित प्रधानमन्त्रीले राष्ट्रहितका महत्वपूर्ण निर्णयहरु गर्न नपाउनेहो भने कुर्चिीमा बसिराख्नको अर्थ नहुने भन्दै नैतिकताको आधारमा राजिनामा दिए दिने पनि उनै निस्किए । यो तथ्य विश्लेषण गर्दै गर्दा वर्तमानका प्रधानमन्त्री हेरौं, देशैभर आलोचना भैरहदा पनि, आफ्नै दलका बहुसँख्यक सदस्यहरुले मन नपराउँदा पनि आफुले चाहेजस्तो गर्न नपाउदा नैसतकताको राजिनामा हैन बरु संसद नै विगठन गरिदिए । ओली प्रजातन्त्रका लागि चौध वर्ष जेल बसेका हुन भनेर उनका समर्थकहरुले प्रचार त गर्ने गर्छन तर उनी कुन संघर्षको नेतृत्व गरेर, कुन मुद्द लिएर र कहाँ को सँग लडेर भिडेर जेल गएका हुन भन्ने कुरा कतै सुनिदैन । बरु संघर्षका कुनै पनि मोर्चामा ओली अग्रस्थानम कहिल्यै उभिएनन, उनको जेलयात्रा आकस्मिक र अस्वभाविक थियो भनेर उनकै सहकर्मीहरुले बताउने गरेका छन् । त्यो फरकै कुरा । कारण जेसुकै भए पनि संघर्षका दौरान उनले पनि यातना भोगे त्यसलाई सकारात्मक रुपमै बुझ्नु उचित हुन्छ ।

०००

निसन्देह भन्न सकिन्छ, प्रचण्डको वर्तमानको दैनिकी र वयक्तिक जीवन सर्वहाराको प्रतिनिधित्व गर्नेखालको छदै छैन । यावत आलोचना र यथेष्ट खिसिट्युरीका वावजुत पनि उनले कोटपाइन्टमा टाई सजाउन छोडेका छैनन् । यतिविधि आलोचना हुदाहुदै पनि कुख्यात ठेकेदारकै घरमा टाँसिएर बसिरहनु पर्ने, दलाल विचौलियाहरु सँग बसेर चियाचपाती भोजन गर्नु, परिवार र पारिवारिक नातागोताको घेरालाई महत्वपूर्ण जिम्मेवारी बाँड्दै जानु, उही विषयमा पनि समय सन्दर्भमा बोली फेर्दै जानु, अस्पष्ट र अस्थीर विदेश नीति, समय समयमा सार्वजनिक भएका पार्टीका आन्तरिक बैठक र प्रशिक्षणका विवादास्पद भिडियो सामग्री र बक्तव्यहरु आदि प्रचण्डको जीवनका कुरुप पाटाहरु हुन ।

उनले अङ्गिकार गरेको राजनीतिक सिद्धान्त, दर्शन र शासन सञ्चालनका गतिविधिमा प्रश्न उठाउन सकिने थुप्रै विषयहरु छन् । आफ्नो राजनीतिक धरातल तयार गरिदिएका र संघर्षको कष्टप्रद यात्रामा संगै हिँडेका सहकर्मीहरुलाई उपेक्षा गर्दै जानु तर फर विचार र फरक आदर्श बोकेका व्यक्तिहरुसँग सहकार्य गर्दै जानु उनको राजनीतिको सबैभन्दा गलत आचरण हो । कुन कारणले बाबुराम भट्टराई गलत र खिलराज रेग्मी ठीक ? कुन कारणले मोहन वैद्य गलत र केपी ओली सही ? स्थानीय निर्वाचनमा कुन कुन कारणले नेपाली काँग्रेस नजिकको र नेकपा एमाले टाढाको ? अनि कुन कारणले चार महिना पछिको प्रदेश र संघको निर्वाचनमा एमाले नजिक, काँग्रेस टाढा ? आफ्नै टाउकाको मूल्य तोक्ने शेर बहादुर देउवाले आफ्ना कुन कुन आनीबानीमा सुधार गरे र प्रचण्डले उनीसँग सत्ताको साझा अभ्यास गरे ? कुन सिद्धान्त र दर्शनको धरातल टेकेर उनले राजतन्त्रका मियो मानिएका कमल थापासँगै मिलेर शासन सञ्चालन गरे ? प्रचण्डले आज भनेजस्तै केपी ओली तानाशाही प्रबृत्तिका मान्छे नै हुन भने दुई दुई पटक उनैलाई सरकार प्रमुखको जिम्मेवारीमा किन सिफारिस गरेको ? उनै माधव नेपाल कुनै समय देशलाई नभै नहुने, कुनै समय देशलाई नभए पनि हुने, कहिले विषबृक्ष कहिले कल्पबृक्ष कसरी बने ? प्रचण्डको राजनीतिक जीवनमा यस्ता थुप्रै अनुत्तरित प्रश्नहरु छन जसमा नीति सिद्धान्त र दर्शनको कुनै रङ्ग देखिदैन । सिद्धान्त, दर्शन, नीति आदिको वेवास्ता गरी प्रचण्डले गरेका थुप्रै हर्कतहरुको नतिजा प्रचण्ड र उनको दलले त राम्रैसँग भोगेको छ, त्यो आज देशले पनि भोगिरहेको छ ।

०००

यस्ता थुप्रै प्रश्नहरुका वावजुद पनि उनको बातरेमा अलि सकारात्मक भएर सोचिदिनेहो भने उनको विगतको संघर्षले केही स्मरणीय उपलव्धीहरु हाँििसल गरेको देखिन्छ । प्रचण्डको व्यक्तिगत जीवनमा जस्तोसुकै परिवर्तन आओस्, उनले स्थापित गरेको व्यवस्थालाई त्यसले खास असर गर्ने छैन । जनताले पाएका अधिकार फिर्ता हुने छैनन् । पहिलो पटक प्रधानमन्त्री बन्दा उनले ‘हातहातमा मोवाइल, घरघरमा इन्टरनेट’ को नारा प्रस्तुत गरेका थिए । ऊ वेला पनि धेरै आलोचकहरुले उनको यो नारालाई हाँसोखिसीमा उडाएका थिए । तर आज उक्त नारा वास्तविकतामा परिणत भैसकेको छ । प्रचण्डको जीवनमा जस्तो पतन आओस, देश यो उपलव्धीबाट पछी फर्किने छैन ।

जुन वर्गका सामाजिक, राजनैतिक, धार्मिक, साँस्कृतिक लगायत सबै खाले अग्राधिकारहरु बैधानिक रुपमै खोसिएका छन्, उनीहरुले त प्रचण्डलाई कहिल्यै पनि असल पात्रको रुपमा हेर्ने छैनन् तर जो सदियौं देखिको बहूआयामिक दलनबाट मुक्त भए र सामाजिक समता सहित आफ्ना जीवनका योजना आफै बनाउन सक्ने भए उनीहरुका नजरबाट भने प्रचण्ड असल पात्र नै देखिन्छन् । त्यो परिदृष्यमा प्रचण्डको वैयक्तिक जीवनका स्खलनहरुले खास अर्थ राख्दैनन् ।

समाजको तल्लो तहका माानिसहरुलाई राष्ट्रिय मूलधारमा ल्याएर नीतिगत तथा चेतनापरक समानता स्थापित गर्नु प्रचण्डको सबैभन्दा सवल पक्ष हो भने परिवर्तनलाई व्यवस्थि तगर्न नसक्नु उनको सबैभन्दा ठूलो कमजोरी हो ।

कमेन्ट गर्नुहोस्