धनगढी पुगे प्रधानमन्त्री ओली, मुख्यमन्त्री र मन्त्रीहरु गएनन् स्वागत गर्न, धनगढीमा टायर बालेर बिरोध प्रदर्शन

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (ओली पक्ष)को प्रदेश भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन् ।

प्रदेश कमिटिको बैठकले आज आयोजना गरेको भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली केहीबेर अघि धनगढी ओर्लिएका हुन ।

बिहान साढे आठ बजे नै काठमाडौंबाट उडने भनेपनि मौसम प्रतिकूल भएका कारण उनी ढिला गरी उडेका थिए ।

धनगढी विमानस्थलमा संघीय सरकारका मन्त्रीहरु तथा प्रदेश अध्यक्षलगायतले उनको स्वागत गरेका छन् ।

तर प्रदेश सरकारका तर्फबाट भने प्रधानमन्त्रीको स्वागतमा कोही पनि गएका छैनन् ।

प्रचण्ड–माधव पक्षका मुख्यमन्त्री त्रिलोचन भट्टलगायत सबै मन्त्रीले ओलीको भ्रमण बहिस्कार गरेका हुन ।

मुख्यमन्त्री कार्यालयले भने प्रधानमन्त्री भ्रमणको औपचारिक जानकारी नभएकोले स्वागतका लागि विमानस्थल नगएको बताएको छ ।

धनगढीमा निकै कडा सुरक्षा व्यवस्थाको प्रबन्ध गरिएको छ ।

विमानस्थलको सुरक्षाका लागि नेपाली सेना परिचालन गरिएका छन् । प्रधानमन्त्री ओली सुरक्षा घेरामा रहेका छन्। धनगढीमा सुरक्षाका सबै अंगलाई तैनाथ गरिएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सुरक्षा व्यवस्थालाई चुस्त बनाउन प्रयाप्त संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको बताए।

विहानै गेटा विमानस्थल धनगढीमा तीनवटै सुरक्षा निकायका प्रमुखहरु पुगेका छन् भने प्रधानमन्त्रीको सुरक्षार्थ नेपाली सेनाको विशेष टोली समेत परिचालन गरिएको छ।

चेकजाँचका लागि तालिम प्राप्त कुकुर समेत प्रयोग गरिएको छ।

यसैबीच संसद विघटनको बिरोधमा रहेका समूहहरुले प्रधानमन्त्री भ्रमणको बिरोध गरेका छन् ।

धनगढीमा सभास्थल नजिकै टायर बालेर बिरोध प्रदर्शन भएको छ ।

धनगढीको चोकचोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

कमेन्ट गर्नुहोस्