नयाँ दिल्ली । भारतीय क्रिकेट टीमका विकेटकीपर ऋषभ पन्तले सिडनी क्रिकेट रंगशालामा इतिहास रचेका छन् ।
उनी अष्ट्रेलियामा लगातार ९ पारीहरुमा २५ या त्यो भन्दा बढी रन बनाउने पहिलो विदेशी क्रिकेटर बनेका छन् ।
योसँगै उनले वेष्टइण्डिजका भिभियन रिचर्डस, इंग्ल्याण्डका वाल्टर हेमण्ड र रुसी सुरतीको रेकर्ड तोडेका छन् ।
यी खेलाडीहरुले टेष्ट क्रिकेटमा अष्ट्रेलियामा लगातार ८ पारीमा नै २५ या त्यो भन्दा बढी रन बनाउन सकेका थिए ।
ऋषभको यो १५ औं टेष्ट खेल हो । अष्ट्रेलियामा भने यो छैठौं टेष्ट खेल हो । ऋषभले अष्ट्रेलियामा सबैभन्दा पहिलो तेष्ट ६ डिसेम्बर २०१८ मा खेलेका थिए । उक्त खेलको पहिलो पारीमा उनले २५ र दोश्रोमा २८ रन बनाएका थिए । दोश्रो खेल १४ डिसेम्बर २०१८ पर्थमा खेलेका पन्तले पहिलो पारीमा ३६ र दोश्रोमा ३० रन बनाएका थिए । यसैगरी तेश्रो खेल २६ डिसेम्बर २०१८ मा मेलबर्नमा खेलेका थिए । त्यहाँ उनले पहिलो पारीमा ३९ र दोश्रोमा ३३ रन बनाएका थिए ।
चौथो खेल भने २०१९ को जनवरीमा सिडनीमा खेल्दा उनले पहिलो पारीमा १५९ रन बनाएका थिए । दोश्रो पारीमा भने खेल ड्र भएको कारण उनले खेल्न पाएनन् । पाँचौ खेल गत वष २६ डिसेम्बरमा खेल्दा उनले पहिलो पारीमा २९ रन बनाएका थिए ।
यो छैठौं टेष्ट खेलमा भने उनले आज ३६ रन जोडेका छन् ।
वाल्टर हेमण्डले भने आफ्नो क्यारिअरमा ८५ टेष्ट खेलेका थिए । यसमा उनले ७२४९ रन बनाएका थिए ।