निर्वाचनले मात्रै मुलुकको सङ्कट समाधान गर्छः मन्त्री थापा

काठमाडौंः खानेपानीमन्त्री मणिचन्द्र थापाले नयाँ निर्वाचनले मात्रै मुलुकको सङ्कट समाधान गर्ने बताएका छन् ।

मुलुकलाई स्थायित्वमा लैजानका लागि सरकारले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको घोषणा गरेको जानकारी दिँदै उनले समयमै नयाँ निर्वाचन गर्नु नै सरकारको आधारबिन्दु भएको स्पष्ट पारे । रिपोर्टस् क्लबमा आज आयोजित कार्यक्रममा उनले वर्तमान परिस्थितिमा संसद् पुनःस्थापना भए देश पछाडि धकेलिने बताए ।

याे पनि पढ्नुस  आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्ने सरकारको तयारी

संसद् विघटनका विषयमा आएका टीकाटिप्पणीलाई सङ्केत गर्दै उनले कुनै पनि विषयमा राजनीतिक टिप्पणी र विष्लेषण हुनुलाई स्वाभाविकरुपमा लिएको बताए । उनले अहिलेको अवस्थामा निर्वाचनमा जानुपर्ने बाध्यात्मक परिस्थिति बनेको जानकारी दिए ।

उनले मन्त्री हुनका लागि समूह परिवर्तन गरेको आरोपको खण्डन गरे । ‘वर्तमान सङ्कटको घडीमा इमान्दार र गतिशील मान्छे मन्त्रिमण्डलमा जानुपर्छ भनी प्रधानमन्त्रीले गरेको प्रस्तावलाई आफूले स्वीकार गरेको हुँ, मेरा निम्ति मन्त्री ठूलो कुरा होइन’, उनले भने ।

कमेन्ट गर्नुहोस्