हुम्ला : हिमपातपछि हुम्लामा चौरी पालन व्यवसाय संकटमा पर्ने देखिएको छ । चरन क्षेत्र हिमपातले सेताम्मे हुँदा चर्न समस्या हुने भएपछि चौरी पाल्न कठिन हुन थालेको हो । ३४ वटा चौरी गाई पालेका सिमकोट गाउँपालिका– ५ तल्लो गाउँका धनसुर कामीले हिमपातपछि चरनको समस्या भएको बताए ।
अग्ला पाटनमा चर्ने चौरी गाई केही तल्ला पाटन झरे पनि जमिन हिमपातले सेताम्मे हुँदा चर्न समस्या भएको हो । जमिनामा चौरी गाई चर्न नपाउने भएपछि घरमा काटेर मौज्दात राखिएको घाँस दिनु परेको र लामो समय हिमपात भईरहे पाल्न कठिन हुने कामीले बताए ।
६० भन्दा बढी चौरी गाई भएका सिमकोट गाउँपालिका-१ को दोजामका पेमा लामाले हिमपातले चौरी गाईलाई चर्न समस्या भएको बताए । चौरीलाई हिउँमा खेल्न निकाल्नु परिरहेको तर घाँस खुवाउन समस्या भएको उनले बताए । यो समस्या हुम्लाका किसानले वर्षेनी भोग्दै आएका छन् ।
११६ वटा चौरी गाई भएको नाम्खा गाउँपालिका-६ हिमालपारीको लिमी गाउँमा रहेको चौरी श्रोत केन्द्रमा पनि हिमपातपछि चौरीलाई स्याहार गर्न समस्या भएको लिमी हल्जी गाउँका फुन्जोक लामाले तामाङले बताए ।
लिमी झनै उच्च क्षेत्रमा रहेको कारण अन्य स्थानभन्दा लिमीमा बढी समस्या भएको उनले बताए ।