प्रचण्ड–माधव निकट राजदूत फिर्ता बोलाउने तयारी !

काठमाडौं । सरकारले केही देशका राजदूत फिर्ता बोलाउने तयारी गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विभाजन देखिएपछि प्रचण्ड–माधव पक्षनिकट रहेका राजदूतहरुलाई फिर्ता बोलाउन खोजिएको कान्तिपुर दैनिकले दावी गरेको छ ।

कान्तिपुरमा प्रकाशित समाचार अनुसार, राजदूत फिर्ता बोलाउने क्रममा पूर्व माओवादी निकट राजदूतहरुलाई कार्यसम्पादनको नाममा फिर्ता बोलाइने तयारी शुरु भएको हो । “नेकपाको प्रचण्ड–नेपालसँग बढी सम्बन्ध भएका अस्ट्रेलिया, बहराइन, बंगलादेश, साउदी अरेबिया, डेनमार्कसहितका केही मुलुकमा रहेका राजदूतलाई घर फर्काउन पूर्वतयारी सुरु भएको छ ।” दैनिकको दावी छ, “केन्द्र सरकारदेखि प्रदेश र स्थानीय तहमा समेत सत्तारूढ नेकपाको फुटले ठाडो प्रभाव पारेसँगै सत्तामा रहेको ओली समूहले बाहिरी जगत्मा सन्देश दिने गरी कूटनीतिक वृत्तमा आफ्नो सत्ता स्वार्थको प्रभाव देखाउन चाहेको हो ।”

अष्ट्रेलियामा पूर्व माओवादी कोटाबाट २००९ नोभेम्बरमा महेशराज दाहाललाई नियुक् गरिएको थियो । त्यसैगरी दलित आन्दोलनमा सक्रिय पदम सुन्दास पनि माओवादी कोटाबाटै बहराइनको राजदूत नियुक्त भएका थिए । सन् २०१७ को जुनमा नियुक्त भएका सन्दासको कार्यकाल अब ६ महिना मात्रै बाँकी छ । यसैगरी बंगलादेशमा भने माधव नेपाल निकट भनेर चिनिने वंशीधर मिश्र राजदूत छन् । उनी गत २०१९ सेप्टेम्बरमा राजदूत भएका थिए । साउदी अरेबियामा रहेका राजदूत महेन्द्रप्रसाद सिंह राजपुत २०१७ नोभेम्बरमा नियुक्त भएका थिए । डेनमार्कस्थित राजदूत युवनाथ लम्सालको पनि चारवर्षे कार्यकाल सकिन चार महिना मात्रै रहे पनि प्रचण्ड खेमा’ बाट नियुक्त भएकाले उनलाई पनि कार्यदक्षताकै कारण देखाएरै फिर्ता गर्ने प्रक्रिया सुरु भएको समाचारमा उल्लेख छ ।

मलेसियामा कार्यरत राजदूत उदयराज पाण्डे पनि हाल नेकपाभित्र स्वतन्त्र हैसियतमा रहेका नेता वामदेव गौतम निकटस्थ रहेको र उनको पछिल्लो ‘समर्थन हेरेर’ फिर्ता गर्नेरनगर्ने निर्णय हुने बालुवाटारनिकट स्रोतले जनायो । उनी राजदूत बनेर २०१९ मार्चमा क्वालालम्पुर गएका हुन् । उनी तत्कालीन एमालेबाट माले फुट्दा सहाना प्रधान र गौतमसँग थिए । पछि सहाना प्रधान परराष्ट्रमन्त्री हुँदा सल्लाहकार पनि भए ।

यीबाहेक श्रीलंका र दक्षिण कोरियाजस्ता नेपालसँगको क्षेत्रीय वा श्रम–कूटनीतिका अर्थमा ‘निकटवर्ती’ सम्बन्ध रहेका मुलुकमा दुई वर्षयता राजदूत नियुक्त हुन सकेका छैनन् । जापान, म्यानमार र ओमानमा रहेका राजदूत पनि बढीमा ६ महिनामा कार्यकाल पूरा भएर घर फिर्दै छन्  ।’

फरक राजनीतिक पृष्ठभूमि र सिफारिसमा गएका भए पनि जापानकी राजदूत प्रतिभा राणा -राप्रपा, ओमानकी शर्मिला पराजुली ढकाल (तत्कालीन फोरम लोकतान्त्रिक) र म्यानमारका भीमकुमार उदास (कांग्रेस) भने कहिल्यै पनि ‘कार्यसम्पादन मूल्यांकन’ को देखावटी प्रक्रियामा परेका छैनन् । चार वर्षअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ९माओवादी केन्द्र० र परराष्ट्रमन्त्री डा। प्रकाशशरण महत ९कांग्रेस० को पालामा नियुक्त भएकामध्ये कतारका राजदूत रमेश कोइराला र दक्षिण कोरियास्थित राजदूत अर्जुनजंगबहादुर सिंह झन्डै दुई वर्षअघि फिर्ता आइसकेका छन् ।

तर, सँगै नियुक्ति पाएका ढकाल, उदास र राणा भने आफ्नै राजनीतिक सम्बन्ध तथा पहुँचका आधारमा अडिएर बसेको कान्तिपुरको दावी छ । छन् । त्यसमा पनि विगतमा जोर्डनका लागि अवैतनिक राजदूत रहेका उदास अहिलेको राजदूत नियुक्तिसम्बन्धी निर्देशिकाअनुसार ‘राजदूत बन्न योग्य’ पात्र नभए पनि आफ्नै प्रभाव र पहुँचमा राजदूतका रूपमा बसिरहेको परराष्ट्रका एक अधिकारीले बताए ।अहिलेको निर्देशिकाअनुसार कुनै विदेशी राष्ट्रको हकहित पक्षधर भएर काम गरेको कोही व्यक्ति नेपाल सरकारको राजदूत हुन नसक्ने प्रावधान स्पष्ट रूपमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्