काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय सभाका सदस्यले संविधान पढ्न सुझाव दिएका छन् ।
राष्ट्रिय सभामा प्रधानमन्त्री ओलीको सम्बोधनपछि राष्ट्रिय सभा सदस्यले संविधान पढ्न सुझाव दिएका हुन् । उनीहरूले संसद् विघटन असंवैधानिक, अलोकतान्त्रिक भएको भन्दै आलोचना गरे ।
राष्ट्रिय सभा सदस्य प्रकाश पन्तले ओलीलाइ संविधान पढ्न सुझाव दिए । उनले भने, ‘संसद् विघटन गर्ने अधिकार संविधानमा छैन । संविधान पढ्नुस राम्रोसँग । गेस पेपर पढेर हुँदैन ।’
उनले चुनाव त राजाले पनि गर्छु भनेको भन्दै चुनाव हुनेमा पनि आशंका व्यक्त गरे । उनले प्रश्न गर्दै भने, ‘संसद् विघटन गरेर चुनाव गराउने कुरा नहर भत्काएर रोपाईँ गर्न जाँ भनेजस्तो भएन र ?
राष्ट्रिय सभा सदस्य जितेन्द्र देवले संसद् विघटन अलोकतान्त्रिक र असंवैधानिक भएको दाबी गरे । उनले ओलीले राष्ट्रिय सभामा गरेको सम्बोधनमा पूर्ण असहमति प्रकट गरे ।
राष्ट्रिय सभा सदस्य प्रमिला कुमारीले संसद् विघटनले सम्पूर्ण उपलब्धमाथि तरबार झुण्ड्याएको भन्दै चिन्ता व्यक्ति गर्नि । उनले संसद् पुनःस्थापना हुनुपर्ने माग गरिन् ।
राष्ट्रिय सभाका सदस्य रमेशजंग रायमाझीले संविधानको गलत धारा प्रयोग गरेर संसद् विघटन गरिएको आरोप लगाए । उनले सरकार गठन गर्ने विकल्प हुँदाहुँदै किन असंवैधानिक कदम चालेको भनेर प्रश्न गरे ।
राष्ट्रिय सभाका सदस्य अनिता देवकोटाले सत्ता यात्रा टुङ्गिने भएपछि संसद्को घाँटी रेट्ने प्रधानमन्त्री ओलीले कसरी चुनाव गराउँलान् भनेर प्रश्न गरिन् ।