काठमाडौंः नेकपाको प्रचण्ड र माधव कुमार नेपाल समूहले निर्वाचन प्रक्रिया रोक्न निर्वाचन आयोगसँग माग गरेको छ ।
पार्टीको आधिकारिक पत्रसहित अध्यक्षद्वय प्रचण्ड र नेपाल, लिलामणि पोखरेललगायत केही स्थायी कमिटी सदस्यहरु आयोग पुगेर उक्त माग गरेका हुन् ।
संसद् विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा भएकाले त्यसलाई प्रभावित गर्ने गरी निर्वाचन सम्बन्धी सम्पूर्ण गतिविधि बन्द गर्न माग गरिएको पोखरेलले बताए ।
आयोगमा पुगेका प्रचण्ड–माधव समूहका नेता रामनारायण विडारीले भने, ‘‘अवैधानिक प्रधानमन्त्रीले असंवैधानिक रुपमा प्रतिनिधिसभा भंग गरेको मुद्दा सर्वोच्चमा विचाराधीन भएको बेला निर्वाचन प्रक्रिया अगाडि बढाउनु भनेको अदालतलाई दबाव दिनु वा अवज्ञा गर्नु जस्तै हो भन्यौं ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा भंग गरेर वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेका छन् । तर संसद विघटन असंवैधानिक भएको भन्दै एक दर्जन रिट गरेको छ र यो मुद्दा सर्वोच्चमा विचाराधीन छ ।
यो समूहले सर्वोच्चले संविधानको सही व्याख्या गरेर संसद् पुनस्र्थापना हुनुपर्ने माग राख्दै आएको छ ।